कांग्रेस संस्थापन इतर समूहको घोषणाः सहमतिमा सभापतिको एउटै उम्मेदवार दिन्छौं

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १७ गते १७:२३
कांग्रेस संस्थापन इतर समूहको घोषणाः सहमतिमा सभापतिको एउटै उम्मेदवार दिन्छौं

काठमाडौं । नेपाली कांग्रेस भित्रको संस्थापन इतर समूहले पार्टीको १४औं महाधिवेशनमा आफ्नो समूहबाट सहमतिबाट एउटै उम्मेदवार तोक्ने घोषणा गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस भित्रको संस्थापन इतर समूहले आगामी १४औं महाधिवेशनमा सहमतिमा नै उम्मेदवार तोक्ने घोषणा गरेको हो ।

सो समूहलाई नेतृत्व गर्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनमा आफ्नो समूहबाट सभापतिमा एउटै उम्मेदवार तोकिने बताए । महाधिवेशनमा हामी सभापतिमा एउटै उम्मेदवार सहमतिमा नै दिन्छौं, देशभरीका साथीहरुलाई म ढुक्क रहन आग्रह गर्दछु,’ पौडेलले भने । उनले ‘कसको नाममा सहमति हुन्छ त ?’ भन्ने पत्रकारहरुको जिज्ञासामा भने व्यक्तिका विषयमा पछि टुंगो लगाइने बताए ।

पत्रकार सम्मेलनमा महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु डा.शेखर कोइराला, अर्जुननरसिंह केसी, नेतृ सुजाता कोइराला, गगन थापा सहभागी थिए ।

सो क्रममा नेता केसीले आफ्नो समूहको अठोट र संकल्पसहित कार्यक्रमको उपस्थितिले पनि सहमतिमा नै उम्मेदवार तय हुने बताए ।कांग्रेसको सबै भन्दा तल्लो तहको अधिवेशनका रुपमा लिइएको वडा अधिवेशन भने भोलीबाट शुरु हुँदैछ ।

वडा अधिवेशन सुरु हुनु अघिल्लो दिन कांग्रेस भित्रको पौडेल समूहले देशभरका नेताकार्यकर्ताहरुलाई उत्साह जगाउन पत्रकारसम्मेलनमार्फत समूह भित्र एकता रहेको सन्देश दिएको हो ।

प्रकाशित : २०७८ भदौ १७ गते १७:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI