पीएनजीसंग ऐतिहासिक डे-नाइट म्याच खेल्दै नेपाल, यस्ता छन् टिममा हुनसक्ने परिवर्तन

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ २५ गते ११:२३
पीएनजीसंग ऐतिहासिक डे-नाइट म्याच खेल्दै नेपाल, यस्ता छन् टिममा हुनसक्ने परिवर्तन

ओमान भ्रमण अन्तर्गत दोश्रो खेलमा नेपालले पपुवा न्यु गिनी बिरुद्ध शुक्रबार ( सेप्टेम्बर १० ) प्रतिस्पर्धा गर्दैछ। नेपालले पहिलो खेलमा पपुवा न्यु गिनी बिरुद्ध २ विकेटको कठिन जित दर्ता गरेको थियो।

पपुवा न्यु गिनी बिरुद्ध भोलिको खेल नेपाली क्रिकेट इतिहासकै पहिलो दिवा रात्री ( डे-नाइट ) एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुनेछ। नेपालले टि-२० अन्तर्राष्ट्रिय फर्म्याटमा डे-नाइट खेल खेलेता पनि एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक यस्तो अवसर जुरेको हो। खेल नेपाली समय बेलुका ४:१५ बजे तथा ओमान समय २:३० बजे दिउँसो अल अमिरात क्रिकेट मैदानमा सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण नेपालमा एक्सन स्पोर्ट्स टेलिभिजनले गर्नेछ भने डीश होमको dishhome go यापबाट पनि हेर्न सकिनेछ। यस्तै Willow TV तथा Fancode यापबाट समेत खेलको प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ।

नेपालले दोश्रो खेलमा पहिलो खेलमा मौका नपाएका खेलाडीहरुलाई मैदानमा उतार्नेछ। सेप्टेम्बर १३ देखि सुरु हुने विश्वकप लिग-२ अन्तर्गत अमेरिका र ओमानसंगको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रियको तयारीको लागि पपुवा न्यु गिनीसंग नेपालले खेलीरहेको हो। त्यसैले पीएनजी बिरुद्ध दुई खेलमा ओमान भ्रमणमा रहेका सम्पूर्ण खेलाडीहरुलाई मौका दिने योजनामा नेपाली टिम रहेको छ।

पहिलो खेलमा मैदान बाहिर रहेका करन केसी, बिनोद भण्डारी, अविनाश बोहरा र सुशन भारिले दोश्रो खेलमा मौका पाउन सक्नेछन्। ४ खेलाडी भित्र हुँदा पहिलो खेलमा मौका पाएका खेलाडीहरु बाहिर बस्नुपर्नेछ। दुई पेसर करन र अविनाश अन्तिम एघारमा हुँदा सोमपाल कामि र बिक्रम सोब बाहिर बस्नुपर्ने हुनसक्छ। यस्तै देब्रे हाते स्पिनर भारि र विकेटकिपर ब्याट्सम्यान भण्डारीले मौका पाउँदा मध्यक्रमका कुशल मल्ल, पवन सर्राफ या आरिफ शेख बाहिर बस्नुपर्ने हुन सक्छ। पहिलो खेलमा विकेटकिपरको भूमिकामा आसिफ शेख रहेका थिए। खुट्टाको चोटका कारण घाइते खेलाडी दिपेन्द्र ऐरी र गुल्सन झाले भने दोश्रो खेल खेल्ने सम्भावना कम रहेको छ।

नेपालले पहिलो खेलमा २ विकेटको जित दर्ता गरेता पनि खेलमा ब्याट्सम्यानहरुको प्रदर्शन कमजोर रहेको थियो। १३५ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर आसिफ शेख र कुशल भुर्तेले ४६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। तर दुवैको विकेट गुमाएपछि अनुभवी खेलाडीहरु कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, आरिफ शेख, कुशल मल्ल र पवन सर्राफ क्रिजमा जम्न सकेका थिएनन्। फलस्वरुप नेपाल ८२/७ को हार्ने परिस्थितिमा पुगेको थियो। हारको संघारबाट नेपाललाई रोहित पौडेलले ४१ तथा सोमपाल कामिले २२ रन बनाएर जिततर्फ डोर्याएका थिए। खेलमा नेपाली बलरहरुले भने राम्रो प्रदर्शन गरेका थिए। प्लेयर अफ द म्याच चुनिएका सन्दिप लामिछानेले ४ तथा डेब्यु गरेका बिक्रम सोब र कुशल मल्लले २/२ विकेट लिएका थए।

पहिलो खेलमा नेपालको परम्परागत ब्याटिंग कमजोरी दोहोरिंदा नेपाली समर्थकहरु निराश बन्न पुगेका थिए। नयाँ ओपनिंग जोडी कुशल र आसिफले राम्रो सुरुवात गर्दै सकारात्मक सन्देश दिएता पनि लामो मध्यक्रम फ्लप हुँदा महत्वपूर्ण सिरिज अघि नेपाली टिम चिन्ताले घेरीएको छ। अनुभवी खेलाडीहरु  ज्ञानेन्द्र, शरद र आरिफ जस्ता खेलाडी लयमा आउनु नेपालको लागि अत्यावश्यक रहेको छ। तर म्याच विनरको भूमिकामा पुनः आफुलाई प्रमाणित गरेका रोहित र सोमपालको लयले भने आशाको संचार गरेको छ। पपुवा न्यु गिनी बिरुद्ध खेलमा नेपालको ब्याटिंग क्रम चलेको तथा सकारात्मक ब्याटिंग गरेको हेर्ने चाहना नेपाली समर्थकहरुको रहेको छ।

पहिलो खेलमा नेपालको अर्को चिन्ताको विषय धेरै डट बल खेल्नु पनि हो। १३५ रनको लक्ष्य पछ्याउ नेपालले ३९.३ ओभर ( २३७ बल ) लगाएको थियो। नेपालले १३५ रन बनाउदा ११ वटा बाउन्ड्री प्रहार गरेको थियो भने धेरै डट बलहरु खेल्दा उल्टो दबाब बनेको थियो। सुस्त ब्याटिंग र १/२ रन लिन नसक्नु नेपाल दबाबमा हुनु प्रमुख कारण थियो। दबाबमा १-२ रन लिंदै रोहित पौडेलले खेलेको इनिंग्सबाट अन्य ब्याट्सम्यानहरुले पाठ सिक्नु जरुरि रहेको छ। रोहितले ४१ रन बनाउंदा २ बलमा बाउन्ड्री प्रहार गरेका थिए भने अन्य रन बनाउन २७ वटा बलमा १/२ रन लिएका थिए।

नेपालको अर्को कमजोरी फास्ट बलर बिरुद्ध खेल्न नसक्नु पनि पहिलो खेलमा देखिएको थियो। नेपालको सबै ८ विकेट पपुवा न्यु गिनीका पेसरहरुले लिएका थिए जुन क्रममा अधिकांश समय नेपाली ब्याट्सम्यानलाई दबाबमा राखेका थिए। ओमान र अमेरिकामा स्तरीय फास्ट बलरहरु हुँदा नेपालको यो कमजोरीले ठूलो नोक्सान हुन सक्नेछ।

नेपाल गत वर्ष फेब्रुअरीमा ओमान र अमेरिकासंग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेपछि लामो अवधिमा एकदिवसीय अन्तर्राष्ट्रिय खेलीरहेको छ। लामो अन्तराल तथा ओमानको फरक परिस्थितिमा पहिलो खेलमा ब्याट्सम्यानहरुको संघर्षको कारण मान्न सकिन्छ। पहिलो खेलको प्रदर्शनबाट पाठ सिक्दै नेपालले दोश्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने वाचा कप्तान ज्ञानेन्द्र मल्लले गरेका छन् जुनकुरा मैदानमा हेर्ने चाहना समर्थकहरुको छ।

प्रकाशित : २०७८ भदौ २५ गते ११:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI