४ वर्षपछि पुनः मतगणना हुँदा वडाध्यक्षमा एक मतले विजयी भए मल्ल

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष १ गते १२:४९
४ वर्षपछि पुनः मतगणना हुँदा वडाध्यक्षमा एक मतले विजयी भए मल्ल

सुर्खेत । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कालीकोटको खाँडाचक्र नगरपालिका–७ को वडाध्यक्षमा रजबहादुर मल्ल पुनः एक मतले विजयी भएका छन् । स्थानीय तहको निर्वाचन २०७४ जेठ ५ गते भएको मतगणनामा मल्लका प्रतिद्वन्द्वी दीपक कार्कीले मतगणना चित्त नबुझेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।

नेकपा एमालेको सूर्य चिह्नबाट विजयी भएका मल्लले कूल खसेको २९६ मतमध्ये १४२ मत पाएका थिए भने माओवादीको हँसिया हतौडा चिह्नबाट निर्वाचनमा लडेका कार्कीले १४१ मत पाएका थिए ।

कार्कीले मतपरिमाण चित्त नबुझेको भन्दै जिल्ला अदालत कालीकोटमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालत कालीकोटले मल्लको पक्षमा नै फैसला गरेपछि कार्कीले उच्च अदालत जुम्लामा मुद्दा दायर गरेका थिए ।

जिल्ला अदालत कालीकोटले सोही गणनालाई सदर गर्ने फैसला गरेको भए पनि उच्च अदालत जुम्लाले पुनः मतगणना गर्न आदेश दिएको र बुधबार पुनः मतगणना गर्दा मल्ल एक मतले विजयी भएको जिल्ला निर्वाचन कार्यालय कालीकोटका प्रमुख धनबहादुर मल्लले बताए ।

मत गणनामा १३ मत बदर भएको पुनः मतगणना हुँदा दलित महिलातर्फको उम्मेदवार रहेकी कुजी विकले भने पहिलोको भन्दा एक मत बढी पाएको कार्यालयका प्रमुख मल्लले जानकारी दिए ।

स्थानीय निर्वाचन भएको ४ वर्ष बढी हुँदा पुनः मत गणना गरिएको हो ।

प्रकाशित : २०७८ पुष १ गते १२:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI