बाँके र बर्दियामा पनि चोरी भयो बाघ गणनाका लागि राखिएको क्यामरा

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २६ गते १९:०५
बाँके र बर्दियामा पनि चोरी भयो बाघ गणनाका लागि राखिएको क्यामरा

बाँके : बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चोरी हुँदा गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा एक स्थानमा करिब १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ ।

यी दुई निकुञ्जमा गणनाको लागि राखिएका २३ क्यामेरा चोरी तथा तोडफोड भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा रवीन कडरियाले जानकारी दिए ।

उनका अनुसार एक नम्बर ब्लकमा नौ , दुई र तीन नम्बर ब्लकमा चार–चार क्यामेरा चोरी भएको छ । ६ क्यामेरा हात्तीले तोडफोड गरिदिएको पाइएको छ । एउटा क्यामेराको मूल्य रु ४० हजार पर्दछ । पहिलो र दोस्रो नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तेस्रो नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । चौथो नम्बर ब्लकमा पूरै बाँके राष्ट्रिय निकुञ्जपर्ने उनले बताए ।

निकुञ्ज क्षेत्रमा घाँस काट्न जाने तथा वन्यजन्तु चोरी सिकारीले क्यामेरा चोरी गर्ने गरेको उनको भनाइ छ । अहिलेसम्म पहिलो र दोस्रो नम्बर ब्लकको काम सकिएको छ भने तेस्रो र चौथो नम्बर ब्लकमा काम भइरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत मङ््िसर २९ गतेबाट बर्दिया र बाँकेका लागि बाघ गणना कार्य सुरु गरेको थियो । बाघ सर्वेक्षणका क्रममा देखिएको बाघको मुभमेन्टलाई हेर्दा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्ने अनुमान गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले बताए।

 

प्रकाशित : २०७८ माघ २६ गते १९:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI