परासीमा एग्रोभेट र फेन्सी पसलमा आगलागी हुदाँ लाखौंको क्षति

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन २ गते २३:०५
परासीमा एग्रोभेट र फेन्सी पसलमा आगलागी हुदाँ लाखौंको क्षति

मोहन पौडेल/परासी ।

पश्चिम नवलपरासीको परासीमा आज साँझ आगलागी हुदाँ ठूलो क्षति भएको छ । रामग्राम – ५ कालिका टोल स्थित लिटिल प्लान्ट स्कुलको पश्चिम तर्फको दुईतले घरमा आगलागी भएको हो ।

साँझ करिब पौने ८ बजे भएको आगलागीबाट एग्रोभेट पसल र फेन्सी पसलका सामान जलेर पूर्ण रुपमा ध्वस्त भएको छ ।

आगलागीबाट यदुवंशी फेन्सी स्टोरको रु ३० लाख बराबर र सनम एग्रोभेटको करिब रु ८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।

एग्रोभेट पसलबाट शुरु भएको आगो छेउको फेन्सी पसलमा पनि लागेको थियोे । बन्द अवस्थामा रहेको दुवै सटरमा आगलागी हुनुको कारण खुल्न नसकेको र अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।

दुवै पसल केही दिन अघिमात्र सञ्चालनमा आएको बताईएको छ । नेपाल प्रहरी,नेपाली सेना र शसस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ ।

आगलागी नियन्त्रणको लागि रामग्राम नगरपालिकाको दमकल बोलाईएकोमा शुरुमा पानी नभएको र भरेर आएपछि पनि फोर्स फोहोरा फाल्न नसकेपछि स्थानीय आक्रोशित भिडले तोडफोडको प्रयास गरेको थियो ।

 

बर्दघाट नगरपालिकाबाट आएको दमकललाई पनि स्थानीयले तोडफोड गरेका थिए । करिब आगो नियन्त्रणमा आईसकेपछि दमकल आएको भन्दै तोडफोड गर्दा बर्दघाटको दमकलको सिसा फुटेको छ भने चालक दुर्गा लामिछानेलाई सामान्य चोट लागेको छ ।

प्रकाशित : २०७८ फागुन २ गते २३:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI