एमालेले आज पनि संसद अवरोध जारी राख्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन ४ गते १०:२८
एमालेले आज पनि संसद अवरोध जारी राख्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले आज पनि संसद्मा अवरोध गर्ने भएका छन् ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकमा अवरोध कायम रहने एमाले नेताले बताएका छन् ।

“संसद् अवरोध कायम रहन्छ । हामीसँग कसैले कुरा गरेको छैन,” एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ बाह्रखरीसित भने ।

एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसद (हाल नेकपा (एकीकृत समाजवादी)मा रहेका)लाई बैठकमा प्रवेश गर्न दिन नहुनेलगायत एमालेको माग छ । एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा पनि मागेको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्नेछ । यद्यपि, बैठकको सम्भावित कार्यसूचीमा भने एमसीसी समावेश छैन । संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । बैठकले कार्यसूचीलाई अन्तिम रूप दिन सक्नेछ ।

प्रकाशित : २०७८ फागुन ४ गते १०:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI