बेताल बन्दै फेवाताल

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २५ गते ७:११
बेताल बन्दै फेवाताल

कास्की । ‘फेवातालको आँगनमा लैलै माछापुच्छ्रे छाया…’ यस बोलको गीत वा फेवातालमा माछापुच्छ्रेको छायाँ देखिने पोस्टकार्ड र तस्बिरबाट फेवाताल चिन्नेका लागि अब ती पहिचान मात्र पर्याप्त हुँदैनन् ।

फेवातालको सौन्दर्यभन्दा अर्को पहिचान पनि थपिएको छ । पहिलेका पहिचान देशका लागि नै मूल्यवान् भए पनि बेलैमा सजग नभए पछिल्लो पहिचानको मूल्य भने देशले चुकाउनुपर्ने देखिएको छ ।
पछिल्लो पहिचान दिने दृश्य हेर्न फेवाताल थुन्न बाँध बाँधिएको स्थान फेवातालको पुछारमा जानुपर्छ ।

यो त्यही स्थान हो जहाँ माछापुच्छ्रेको छायाँ पर्ने गर्दछ तर प्रदूषणले गर्दा कञ्चन फेवाताल र माछापुच्छ्रेको छायाँ देख्न अचेल मुस्किल पर्छ ।

माछापुच्छ्रेको छायाँ तैरिने पानीमा अचेल थोत्रा जुत्ताचप्पल, प्लास्टिकका बोतल र थुप्रै खाले फोहोर तैरिन्छन् । तालको त्यस भागमा एउटा नाली आएर मिसिएको छ । त्यसैले ती फोहोर सिधै तालमा ल्याएर मिसाउँछ ।

यस्तो फोहोर ल्याउने काम त्यो नालाबाट मात्रै सीमित छैन । वाराहीघाट, गौरीघाट, फेवाघाट, पहारीघाटलगायत धेरै ठाउँमा त्यसरी नै सहरको नाला सिधै फेवातालमा सोझिएको छ ।

ती नालीले सधैँ प्लास्टिकजन्य फोहोर ल्याउँछन् र ताललाई फोहोर पार्छन् । कहिलेकाहीँ त मरेका जीवजन्तु पनि तिनै नालामा बगेर तालमा आइपुग्छन् ।

वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेल तालमा सोझिएका नालासँगै फिर्के र बुलौँदी खोलाले पनि फेवालाई प्रदूषित बनाइरहेको बताउनुहुन्छ ।

उहाँका अनुसार फिर्के र बुलौँदी खोलामा पनि सहरका नाला मिसिएका छन् । त्यसैले ती खोलामार्फत पनि तालमा फोहोर पुग्ने उहाँको भनाइ छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित : २०७८ चैत २५ गते ७:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI