बाँदरमुढे घटनाको १७ वर्ष पूरा, पीडित भन्छन्–आश्वासन मात्रै बाँडियो

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २३ गते ९:५१
बाँदरमुढे घटनाको १७ वर्ष पूरा, पीडित भन्छन्–आश्वासन मात्रै बाँडियो

चितवन । बाँदरमुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ । माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १७ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो छ  ।

पीडितले अझैसम्म राज्य भएको महसुस गर्न पाएका छैनन् । चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आश्वासन मात्रै दिएको पीडितको गुनासो छ । माडी प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ ।तत्कालिन विद्रोही माओवादीले २३ जेठ २०६२ मा माडीको बाँदरमुढे खोलामा थापेको एम्बुसमा परी ४२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश माडीका स्थायी बासिन्दा थिए । नेपाली सेनाका तीन जवानले पनि उक्त घटनामा विरगती प्राप्त गरेका थिए ।

विद्रोही माओवादीका कमाण्डर स्वंयम प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्दा पनि पीडितले राहत महसुस गर्न पाएका छैनन् । विस्फोटमा एउटा घरका तीन जनासम्म परेका थिए । १५० यात्रु बोकेर माडीको बगईबाट भरतपुरतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबहाक बसमा माओवादीले बम विस्फोट गराउँदा घटनास्थलमा ३९ र उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो । सामान्य घाइते भई घरमा उपचार गराएका घाइतेको रेकर्डबाहेक ७५ जना घाइते भएका थिए ।

मृतकहरुको सम्झनामा आज घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरिएको छ । एड्भोकेसी फोरमको सहकार्यमा बाँदरमुढे घटना पीडित समितिले घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरेको हो । दोषीलाई कारबाही गरी पीडितको अधिकार सुनिश्चित गर्न पीडितले माग गरेका छन् ।घटना भएको १७ वर्ष भइसक्दा पनि पीडा घट्ने भन्दा बढ्दै गएकी पीडित यमकला चुवाई बताउँछिन् । घटना हुँदा उनको पेटमा ८ महिनाको गर्भ थियो । घटना भएको एक महिनापछि उनले छोरीलाई भरतपुर अस्पतालमा जन्म दिइन् । तर छोरीको मुटुको धड्कन असामान्य भएपछि उनले छोरीलाई अस्पतालमा सात महिनासम्म राखिन् ।

‘घटनापछि छोरीलाई जन्म त दिएँ र मुटुको धड्कनले राम्रोसँग काम नगरेकाले अस्पतालको आइसियूमा सात महिनासम्म राखेँ’, उनी भन्छिन्, ‘मेरो आँखामा छर्रा लागेको थियो । अहिलेसम्म पनि आँखा राम्रोसँग देख्न सक्दिन । दाहिने खुट्टा भाँचिएर रड राखेको छ ।’उनको हातका औँला काटिएको छ । अहिले ऋण लिएर आफ्नो र छोरीको उपचार गर्दै आएको उनी बताउँछन् । उनका तीन छोरी, एक छोरा र श्रीमान छन् । बम विस्फोटमा पर्दा गर्भमा रहेकी छोरी अहिले १७ वर्षको पुग्न लागिन्  । उनी कक्षा ११ मा पढ्दै छिन् ।

प्रकाशित : २०७९ जेठ २३ गते ९:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI