चौथो पटक निर्वाचन लडेका शशांक प्रधानमन्त्रीको दौडमा

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २४ गते २२:३३
चौथो पटक निर्वाचन लडेका शशांक प्रधानमन्त्रीको दौडमा
राजु चापागाईं, कावासोती । मन्च तथा तथा सञ्चार माध्यमहरुमा प्राय कम बोल्ने गरेका कांग्रेस नेता डाक्टर शशांक कोइराला  आईतबार पुर्वी नवलपरासीको कावासोतीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ता गरेर निस्किने बेला पत्रकारहरुले घेरिए ।
अरुबेला भन्दा फरक कुरा गर्ने पत्रकारहरुले अपेक्षा गरिरहेका बेला कोइरालाले निर्वाचन अधिकृतको कार्यालय परिसर बाटनै आगामी प्रतिनिधि सभा निर्वाचन पछि प्रधानमन्त्रीको आफू स्वाभाविक दाबेदार रहेको बताए पछि यस्ले कांग्रेस वृत्तलाई मात्रै तरंगित बनाएन चौथो पटक निर्वाचन लडन लागेका कोईरालाको अबको मुद्दा  र योजना के होला भन्नेहरुलाई पनि कोइरालाले जवाफ दिनु भएको छ  ।
त्यसो त दोस्रो जनआन्दोलन ०६२/६३ पछि आफ्ना काका गिरिजाप्रसाद कोईरालाको ईच्छा अनुसार कोईरालाहरुको विरासत धान्नका लागी राजनीतिमा आउनु भएका शशांकले यस अघि पुर्वी नवलपरासीको क्षेत्र नं १ बाट ३ पटक निर्वाचन जितिसक्नु भएको उहाँले आइतबार यसै क्षेत्र बाट चौथो पटक उम्मेदवार दर्ता गर्नुभयो ।
०६४ सालको निर्वाचनमा नवपरासीबाट ३ हजारको फराकिलो मतान्तरले माओवादीका ठाकुरप्रसाद चापागाईँलाई पराजित गर्नु भएका  कोइरालाले त्यसबेला १७ हजार ४ सय ३० मत प्राप्त गर्दा भने उहाँका निकटतम प्रतिद्वन्द्वी चापागाईले १४ हजार ९ सय ७२ मत पाउनु भएको थियो ।  सो क्षेत्रमा ०६४ सालमा एमालेको मत साढे ८ हजार मात्रै आएको थियो । दोस्रो संविधानसभामा पनि शशांकले नवलपरासी १ नै रोज्नु भयो  र त्यहाँबाट जित हात पारेर संविधान सभामा आउनु भयो  । संविधान जारी भए पछिको २०७४ सालको निर्वाचनमा पनि नवलपरासी १ बाट बाम गठबन्धनका उम्मेदवार भविश्वर पराजुलीलाई ४ हजार बढि मतान्तरले हराउदै कोईरालाले तेस्रो पटक आम निर्वाचन जित्नु भएको थियो।
२०६४ साल देखि निरन्तर पुर्वी नवलपरासीका जनताको प्रतिनिधि बन्नु भएका कोइरालालाई निर्वाचन क्षेत्रका आम सर्वसाधारणहरु र  विपक्षीहरुबाट जन अपेक्षा र कोइरालाको उचाई अनुसार काम गर्न नसकेको आरोप लगाई रहदा कोइराला भने त्यो मान्न तयार हुनुहुन्न । त्यसो त कोइरालाले लगातार १५ वर्ष देखि भन्दै आएको महत्त्वकांक्षी योजनाहरु ट्रमा सेन्टर र बिपि अन्तर्राष्ट्रिय खेलग्राम यसै वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा परे सँगै चाडैनै निर्माण सम्पन्न हुने दाबी कोईराला गर्नु हुन्छ ।
२०७२ मा संविधान जारी हुने समयमा साबिकको नवलपरासीबाट टुक्राएर नयाँ जिल्ला नवलपुर (पुर्वी नवलपरासी ) बनाउन कोइरालालेको उच्च राजनैतिक व्यक्तित्वकै कारण सम्भव भएको विपक्षीहरुनै बताउछ्न । सुशील कोइराला प्रधानमन्त्री भएका बेला संविधान जारी हुने समयमा  कोइराला संविधान सभा सदस्य हुनुहुन्थ्यो, कोइरालाको उच्च राजनैतिक व्यक्तित्व र पार्टी भित्र उहाँको प्रभावका कारण छुट्टै जिल्ला बनाउने विषयले संविधान सभामा सहजै प्रवेश पाएको कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी बताउनु हुन्छ ।
पहाडी र तराई गरेर फरक भौगोलिक संरचना भएको जिल्लाको पहाडी क्षेत्रको विकासको मुख्य ढोका मानिएको पहाडी क्षेत्रलाई तराईका बजार र गाउँ सँग जोडने सडक संजाल अहिलेको अवस्था सम्म आईपुग्न कोइरालाकै कारण सम्भव भएको बुलिङ्गटार गाउँपालिकाका पुर्व अध्यक्ष शशिकिरण बस्ताकोटि बताउनु हुन्छ । पहाडी क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा लिन कावसोती धाउने समस्या बाट मुक्त गराउन कोइरालाकै पहलमा मन्त्री परिषदको निर्णय भए सँगै  यसै आर्थिक वर्ष भित्र बुलिङ्गटारको अत्रौलीमा ईलाका प्रशासन कार्यालय स्थापना हुने गरि काम अगाडि बढेको निवर्तमान प्रदेश सांसद विष्णु लामिछानेले बताउनु भयो । संविधान जारी भए पछिको सरकारको नेतृत्व कांग्रेसले नगर्दा आफ्ना योजनाहरुले गति लिन नसकेको बताउनु भएका कोइरालाले आगामी निर्वाचन पछि प्रधानमन्त्री बनेर पुर्वी नवलपरासीलाई विकासको रोल मोडल बनाउने चाहना रहेको बताउनु हुन्छ ।
आईतबार चौथो पटकका लागि  मनोनयन  दर्ता गरे पछि कोइरालाले नेपालको विकासका लागि बिपि कोईरालाकै नीति तथा योजनानै पर्याप्त रहेको बताउनु भयो । निर्वाचन पछि आफू प्रधानमन्त्री बन्ने र बिपिकै नीति तथा योजनानै अनुरुप देशलाई अगाडि बढाउने उदघोष गर्नु भयो ।
राजनीतिमा आउनु अघि चिकित्सा पेशामा रमाउनु भएका कोइराला पार्टी भित्र आफ्नो आवश्यकता महसुस गरिएको र तथा आफ्ना काका गिरिजाप्रसाद कोईरालाको ईच्छाको कारणले राजनीतिमा आएको  बताउनुहुन्छ  । “पार्टी भित्रको आवश्यकता र गिरिजा बाबुको ईच्छाका कारण राजनीतिमा आए अब बिपिको पदचापलाई पछ्याउँदै कार्यकारी पदमा पुगेर देश चलाउने सपना छ”, कोईरालाले भन्नू भयो ।
आँखाको शल्य चिकित्सकबाट राजनीतिमा होमिएका कोईरालाले निर्वाचन कहिलै हार्नु भएन, पार्टीको १३ औ महाधिवेशनमा पनि लोकप्रिय मतका साथ महामन्त्रीमा निवार्चित उहाँ १४ औं महाधिवेशनमा सभापतिको दावेदारी गरिरहदाँ आफ्नै समुहका सिनियर नेता रामचन्द्र पौडेललाई छाडेर सभापतिको दौडबाट बाहिरीए पनि केन्द्रीय सदस्यमा खुल्ला तर्फ सर्वाधिक मत ल्याएर विजयी हुनु भएको थियो । कोईरालाले केन्द्रिय सदस्यमा  ३ हजार ८ सय ३६ मत पाउनु भएको थियो जुन कुल खसेकोमत को ८१ प्रतिशत भन्दा बढी हो । पार्टीको १४ औं महाधिवेशनमा  सभापति पदको स्वाभाविक दावेदारका रुपमा रहनु भएका  कोईराला सभापतिको दौडबाट पछि हटे पछि सभापतिमा आफ्नै दाजु शेखर र प्रधानमन्त्री देउवा दुवैको कित्तामा देखिनु भएन तर यस पटक भने जनताको मतका साथ देशको कार्यकारी पदमा पुग्ने अठोटका साथ चौथो पटक आम निर्वाचन लडदै हुनुहुन्छ ।
“सम्भवतः बिपिको रुप देखेर जसरी मतदाताले मलाई लोकप्रिय मत दिईरहनु भएको छ, मलाई पनि मतदाताको भावना बुझेर बिपिको विचार अंगाल्दै उहाँकै पदचाप पछ्याउँदै  देशको कार्यकारी पदमा पुगेर एक पटक सेवा गर्ने ईच्छा छ,” कोइरालाले भन्नू भयो, “चौथो पटकमा पुर्वी नवलपरासीका मतदाताले मलाई  प्रधानमन्त्रीको पदमा पुर्‍याउनु हुनेछ, निर्वाचन जित्नेमा ढुक्क छु ।”
नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री बिश्वेश्वर प्रसाद कोईराला २०१५ सालको चुनावमा खट्ने तयारीमा रहेका बेला शशांकको जन्म भएको हो । र, उहाँ दुई वर्ष पुग्दा नपुग्दै बिपी प्रधानमन्त्रीबाट अपदस्त हुनुभयो। बिपी जेल परेपछि शशांक भारतको बनारस गएर विद्यालय तहको अध्ययन पूरा गर्नुभयो । भारतमै आइएस्सी उत्तीर्ण  गरेर उतै  एमबीबीएस पढ्दै गर्दा थाइल्याण्डकी युवतीसँग शशांकको प्रेम सम्बन्ध भयो । भारतीय पिता र थाई आमाबाट जन्मेकी सुपात्रा (सुफात्रा) भाटिया भारतमा छात्रवृत्ति पाएर अध्यययनरत हुनुहुन्थ्यो । पछि उहाँहरुले नेपालमै आएर विवाह गर्नु भयो र भारतबाटै शशांक र सुपात्रा दुबै जना एमडीसम्मको अध्ययन पूरा गरी दुबैजना डाक्टर बन्नु भयो । भारतमा रहँदा शशांक र सुपात्रा आमा सुशीलासँगै बस्नु भएको थियो । उहाँहरु उतै हुँदा बिपी कोइरालाको निधन भएको थियो ।
शशांकपत्नी डा. सुपात्रा कोइराला प्रसुतीसम्बन्धी नेपालकी चर्चित डाक्टर हुनुहुन्छ।  डा. शशांकचाँहि आँखाका डाक्टर हुनुहुन्छ । राजनीतिमा लाग्नुपूर्व शशांकले काठमाडौंको टिचिङ एवं वीपी कोइराला मेमोरियल अस्पतालमा काम गर्नु भएको थियो ।
त्यसो त कांग्रेसबाट प्रधानमन्त्री बन्न निर्वाचन जितेर मात्रै पुग्दैन संसदीय दलको नेता पनि बन्नु पर्छ । कोइराला सँगै कांग्रेसबाट  सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला पनि प्रधानमन्त्रीको दौडमा रहेका छ्न । शशांकले गरेको  प्रधानमन्त्री पदको दाबी चुनावी नारा मात्रै हो साच्चै उहाँ प्रधानमन्त्रीको दौडमा हुनुहुन्छ त्यो देख्न भने मंसिर ४ नै कुर्नु पर्ने हुन्छ ।
प्रकाशित : २०७९ असोज २४ गते २२:३३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI