लिग–२ : नेपालले आज घरेलु मैदानमा पपुवा न्युगिनीसँग खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन २५ गते ८:२१
लिग–२ : नेपालले आज घरेलु मैदानमा पपुवा न्युगिनीसँग खेल्दै

कावासोती । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे घरेलु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को यो अन्तिम श्रृङ्खला हो ।

नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन -जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोट सोझै खेल्न बाँकी सबै ४ खेल जित्नु पर्ने हुन्छ । श्रृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २÷२ खेल खेल्नेछ ।

नेपालले आइतवार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार यूएईसँग खेल्नेछ । अन्तिम श्रृङ्खलाबाट तेस्रो, चौथो र पाँचौँ स्थानमा रहने टोलीको तय हुनेछ । नेपालले यी चार खेल जित्दा ४० अङ्क पुग्नेछ । जुन सोझै विश्व कप छनोट र एक दिवसीय मान्यता कायम राख्न पर्याप्त हुनेछ ।

यदि नेपाल अङ्कतालिकाको शीर्ष तीनमा पर्न नसके विश्वकप छनोटका लागि क्वालिफायर प्लेअफ खेल्नु पर्ने हुन्छ । जसबाट शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् । त्यस्तै लिग–२ मा शीर्ष पाँचमा पर्न नसके नेपालले एक दिवसीय मान्यता जोगाउन प्लेअफ क्वालिफायरमा शीर्ष चारमा पर्नुपर्ने हुन्छ ।

शीर्ष पाँचमा पर्न अबका ४ खेलमध्ये २ खेल जिते पुग्नेछ । नेपालको ३२ खेलमा ३२ र यूएईको ३१ अङ्क छ । तालिकामा स्कटल्यान्ड ५० अङ्कका साथ शीर्ष र ओमान ४४ अङ्कसहित दोस्रो स्थानमा छ । पपुवा न्युगिनी ३२ खेलमा ९ अङ्कसहित पुछारमा छ । अहिले नामिबिया ३९ अङ्कसहित तेस्रो र अमेरिका ३५ अङ्कसहित चौथो स्थानमा छन् ।

यस्तो छ नेपालको टोली

कप्तान–रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी ।

प्रकाशित : २०७९ फागुन २५ गते ८:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI