डङ्गर प्रजातिका १० गिद्धलाई प्राकृतिक बासस्थानमा छोडियो

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन २७ गते १५:४९
डङ्गर प्रजातिका १० गिद्धलाई प्राकृतिक बासस्थानमा छोडियो

राजु चापागाईं/कावासोती।

चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्र कसरामा हुर्किएका दुर्लभ प्रजातिका १० वटा डङ्गर गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको छ ।

गत कार्तिक १७ गते चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रबाट प्राकृतिक बासस्थानमा छोडन पुर्वी नवलपरासीको कावासोती–१३ मा रहेको जटायु रेष्टुरेन्टमा ल्याईएका डङ्गर प्रजातीका १० वटा गिद्धलाई प्राकृतिक बासस्थानमा छोडिएको जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष एवं संरक्षणकर्मी डिबि चौधरीले बताउनु भयो । गिद्धहरुलाई प्राकृतिक बासस्थानमा छोडनु अघि उनिहरुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

जङ्गलमा छाडिएका गिद्धको निगरानी गर्न ढाडमा सेटलाइट ट्याग र खुट्टामा गणनाको लागि सहज हुने नम्बर टयाग लगाएर छाडिएको चौधरीले बताउनुभयो । यसरी टयाग लगाएर छाडिएका गिद्धहरुको दैनिक रुपमा निगरानी गरिने भएकाले उनीहरु उडेर कहाँ पुगे या कति दुरि पार गरेका छन भन्ने तथ्यांक आउने चौधरी बताउनु हुन्छ । चौधरीका अनुसार सन २०१७ देखि २०२३ सम्म निकुञ्नको गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका ६९ गिद्ध र जंगली गिध्द ७० वटा गरेर १३९ वटा गिद्धलाईसेटलाइट ट्याग लगाएर प्राकृतिक बासस्थानमा छाडिएको हो ।

विषादीयुक्त आहारा र बासस्थानमा आएको ह्रासको कारण गिद्ध मासिदै गएपछी नेपालमा पहिलो पटक, समुदाय स्तरबाट नेपालमै पहिलो पटक वि.स २०६३ भदौमा जटायु रेष्टुरेन्टको स्थापना गरिएको जटायु रेष्टुरेन्ट व्यवस्थापन चौधरीले बताउनु भयो । चौधरीका अनुसार लोपोन्मुख गिद्धलाई विषादीरहित आहारा उपलब्ध गराएर संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाट रेष्टुरेण्टको सञ्चालन र व्यवस्थापन गरिएको हो ।

कावासोती १३ मा रहेको नमूना सामुदायिक मध्यवर्ती वनको करीब ५० हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेष्टुरेन्टमा नेपालमा पाईने ९ प्रजातीका गिद्ध मध्य ८ प्रजातीका गिद्ध पाइने अध्यक्ष चौधरीले बताउनु भयो । उहाँका अनुसार यहाँ रैथाने प्रजातीका डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातीका राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडे गिद्ध रहेका छन । आगन्तुक प्रजताीका गिद्धहरु भने हिउँदको समयमा आउने गरेक चौधरीले जानकारी दिनु भयो ।

प्रकृतिको कुचिकारको रुपमा रहेका गिद्धहरु गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोग सँगै सँगै बासस्थानमा आएका ह्रासका कारण गिद्धहरु लोपोन्मुख अवस्थामा पुगेका चौधरी बताउनु हुन्छ । “डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशुको मृत्यु पछि सिनो गिद्धले खाएमा मिर्गाैलामा असर भई केही दिनमा नैै गिद्धहरु मर्ने गरेका तथा बासस्थान आएको कारणले गिद्ध लोपोन्मुख अवस्थामा पुगेका हुन”, उहाँले भन्नु भयो । पछिल्लो समय गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुखहरु मासिदै गएपछि गिद्धको बासस्थानमा ह्रास आएको चौधरी बताउनु हुन्छ ।

रेष्टुरेन्टले गिद्धको आहारा लागी गाउँघरबाट बुढाखाडा भएका गाई भैसी ल्याएर पाल्ने गरेको छ । रेष्टुरेन्टको गौशालामा पालिएका गाइ वस्तु मरेपछि गिद्धका आहाराका लागी प्रयोग गरिने चौधरीले बताउनु भयो । यस बाहेक जिल्ला भित्र विभिन्न कृषि फर्ममा मरेका गाई भैसी ल्याएर परीक्षण पश्चात आहाराको रुपमा प्रयोग गरिने चौधरीले बताउनु भयो । रेष्टुरेन्टले आहारा व्वस्थापनको लागी व्यवस्थित गौशाला निमार्णको योजना अगाडी बढाएको र यसका लागी पन्छी संरक्षण संघ, चितवन राष्ट्रिय निकुन्ज, कावासोती नग।पालिका, डिभिजन वन लगाएतका संघसंस्थाले आर्थीक सहयोग गरेको चौधरीले जानकारी दिनु भयो ।

पर्यापर्यटन र जैविक विविधता अध्ययन गर्नेहरु तथा गिद्ध अवलोकनका लागी पछिल्लो समय विदेशी तथा स्वदेशी पर्यटकहरु पछिल्लो समय बाक्लो रुपमा आउने गरेका चौधरीले बताउनु भयो । रेष्टुरेन्टले गिद्ध अवलोकन गर्न आउने विदेशी पर्यटक सँग एक हजार र नेपाली पर्यटक सँग तीन सय रुपिया लिने गरेको छ । विभिन्न संघ संस्थाको सहयोग, आगन्तुकलाई बिक्री गरिएको टिकट र आहराको रुपमा प्रयोग भएपछि रहेको गाईबस्तुको छाला र र हड्डी र मलको बिक्रीबाट रेष्टुरेन्ट सन्चालन गर्ने गरिएको चौधरीले जानकारी दिनु भयो ।

 

प्रकाशित : २०७९ फागुन २७ गते १५:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI