नेपालमा हिन्दु धर्मावलम्बीको संख्या ८१.१९ प्रतिशत

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ २० गते ७:५८
नेपालमा हिन्दु धर्मावलम्बीको संख्या ८१.१९ प्रतिशत

कावासोती  । नेपालमा हिन्दु धर्मावलम्बीको संख्या ८१.१९ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ । शुक्रबार  केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना, २०७८ को विवरण अनुसार नेपालमा हिन्दु धर्मावलम्बीको संख्या दुई करोड ३६ लाख ७७ हजार ७४४ रहेको छ ।

नेपालमा हिन्दुको संख्यामा व्यापक गिरावट आएको हुन सक्ने चर्चा हुन्थ्यो । तर, केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकले भने त्यस्तो देखाउँदैन । यद्यपि तुलनात्मक रूपमा गिरावट आएको छ ।

विसं २०६८ को जनगणना अनुसार नेपालमा  हिन्दु धर्मावलम्बीको संख्या ८१.३ थियो । अहिले घटेको छ ।

दोस्रो नम्बरमा रहेको बौद्ध धर्मावलम्बीको संख्या २३ लाख ९३ हजार ५४९ रहेको छ । जुन कुल जनसंख्याको ८.२ प्रतिशत हुन्छ ।

जबकि विसं २०६८ मा बौद्ध धर्मावलम्बीको संख्या ९ प्रतिशत थियो ।

तेस्रो नम्बरमा रहेको इस्लाम धर्मावलम्बीको संख्या १४ लाख ८३ हजार ६६ (५.०८ प्रतिशत) रहेको छ । इस्लाम धर्मावलम्बीको संख्यामा भने वृद्धि भएको छ । ०६८ मा इस्लाम धर्मावलम्बीको संख्या ४.४ प्रतिशत थियो ।

यसैगरी किरात धर्मावलम्बीको संख्या ९ लाख २४ हजार २०४ (३.१७ प्रतिशत) रहेको छ । किरात धर्मावलम्बीको संख्यामा पनि वृद्धि देखिएको छ । ०६८ मा किरात धर्मावलम्बीको संख्या ३.१ प्रतिशत थियो ।

यसैगरी क्रिस्चियन धर्मावलम्बीको संख्या पाँच लाख १२ हजार ३१३ (१.७५ प्रतिशत) रहेको छ । क्रिस्चियन धर्मावलम्बीको संख्यामा पनि वृद्धि देखिएको छ । ०६८ मा क्रिस्चियन धर्मावलम्बीको संख्या १.४ प्रतिशत थियो ।

केन्द्रीय तथ्यांक कार्यालयका अनुसार प्रकृति धर्म मान्नेको संख्या ०.३४ प्रतिशत रहेको छ । यसैगरी ०.२३ प्रतिशतले बोन धर्म मान्छन् । जैन धर्मावलम्बीको संख्या दुईहजार ३९८ तथा शिख धर्मावलम्बीको संख्या एकहजार ४९६ रहेको छ ।

त्यस्तै, ५३७ जनाले बहाई धर्म मान्छन् ।

प्रकाशित : २०८० जेठ २० गते ७:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI