मध्यविन्दुमा साढे ९७ करोडको बजेट, शिक्षामा ३३ प्रतिशत बढी लगानी

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १० गते १४:३४
मध्यविन्दुमा साढे ९७ करोडको बजेट, शिक्षामा ३३ प्रतिशत बढी लगानी

तिर्थराज डुम्रे/मध्यविन्दु ।

मध्यविन्दु नगरपालिकाको १३ औं नगरसभाबाट आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित भएको छ । नगरसभामा नगर प्रमुख भिमलाल अधिकारीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम र उपप्रमुख पूर्णकला चौधरीले प्रस्तुत गर्नु भएको बजेट वक्तव्य माथि छलफल पछि सर्वसम्मत रुपमा पारित गरिएको हो ।

नगरपालिकाले यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपंछि, बहुवर्षिय योजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो । मध्यविन्दु नगरपालिकाले शिक्षामा पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरी हाम्रो खुशी पाठ्यक्रम कार्यान्यवनमा लैजाने नगरपालिकाले योजना अगाडी सारेको छ । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको नगरपालिकाले यस वर्ष ३३.१३ प्रतिशत बजेट विनियोजन गरेको छ । नगर उपप्रमुखले प्रस्तुत गर्नु भएको बजेट वक्तव्य अनुसार ३० करोड ९४ लाख ५० हजार रुपैयाँ शिक्षा तर्फको बजेट र प्रस्तावित बहुप्राविधिक शिक्षालय सञ्चालन अनुदान एक करोड ४० लाख गरि कुल ३२ करोड ३४ लाख ५० हजार रुपैया विनियोजन गरिएको छ ।

मध्यविन्दु नगरपालिकामा यस वर्ष ५९ करोड ९५ लाख ४७ हजार पाँच सय र पुँजिगत तर्फ ३७ करोड ६५ लाख ४० हजार नब्बे रुपैया गरी कुल ९७ करोड ६० लाख ८७ हजार पाँच सय ९० रुपैयाँको बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले कृषि तथा पशुपंछी विकास तर्फ मध्यविन्दु जाऔं रैथाने खाना खाउँ , अर्गानिक तरकारी तथा खाद्यबाली प्रवद्र्धन, खाद्यान्न बाली बीउमा अत्मनिर्भर नगर, कृषि एम्बुलेन्स, कृषि तथा पशुपक्षी क्षेत्रको विकास नवप्रवद्र्धन र अनुसन्धान, एक घर एक एभोकाडो कार्यक्रम, मध्यविन्दु नपा १४ को रातमाटेमा स्थानीय कुखुरा प्रवद्र्धन कार्यक्रमलाई विस्तार, माछा पालन व्यवसाय प्रवद्र्धन कार्यक्रम गर्ने नीति लिएको छ ।

पर्यटन तर्फ पहाडी र नारायणी नदी तटीय क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास, मध्यविन्दु पार्क निर्माणको कामको शुरुवात, मध्यविन्दु १३ मा पार्क निर्माण, मध्यविन्दु २ मा मगर होमस्टे सञ्चालनमा सहयोग सहित विभिन्न स्थानमा होमस्टे स्थापनको सम्भाव्यता अध्ययन गर्ने नीति लिएको छ ।

मध्यविन्दु नगरपालिकाले यस वर्ष नगरपालिकामा सिप बिकास केन्द्र स्थापना गरी नगरपालिकाबाट हुने विभिन्न सिप बिकास तालिमहरुलाई व्यवस्थित गराउने योजना तय गरेको छ । नगरभित्र उद्योग स्थापनाको लागि आवश्यक सहजिकरण गर्ने नीति नगरपालिकाले लिएको छ ।

नगरपालिकाले विगतको वर्षबाट शुरु गरेको जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रमलाई निरन्तरता सहित जेष्ठ नागरिक मिलान केन्द्र लगायतका कार्यक्रमहरु अगाडी सारेको छ । यस्तै नगरपालिकाले यस वर्ष ख श्रेणीको एम्बुलेन्स खरिदको लागि बजेट विनियोजन गरेको छ ।

यस्तै मध्यविन्दु नगरपालिकाले यसै वर्ष भित्र नगरभित्रका भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनि पुर्जा वितरण गर्ने नीति तथा कार्यक्रममा योजना प्रस्तुत गरेको छ । यस्तै नगरभित्रका अति विपन्न परिवारहरुका लागि नगर जनता आवास कार्यक्रम र सामुहिक खेतिका लागि जग्गा भाडामा लिई प्रदान गर्ने नीति नगरपालिकाले लिएको छ ।

नगरपालिकाको १३ औं नगरसभामा विभिन्न महत्वपूर्ण थप प्रस्तावहरु समेत पारित भएको नगर प्रवक्ता रणबहादुर थापाले जानकारी दिनुभयो ।

 

प्रकाशित : २०८० असार १० गते १४:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI