तीन सन्तान जन्माउँदा पाँच हजार भत्ता

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १९ गते १४:१६
तीन सन्तान जन्माउँदा पाँच हजार भत्ता

कावासोती । पाल्पाको रिब्दीकोट गाउँपालिकाको वडा नं. १ ले दुईभन्दा बढी सन्तान जन्माउने परिवारलाई प्रोत्साहन भत्ता दिने योजना अघि सारेको छ । तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने दम्पतीलाई प्रोत्साहनस्वरूप पाँच हजार भत्ता दिने वडा कार्यालयले जनाएको छ ।

ग्रामीण क्षेत्रमा जनसङ्ख्या घट्दै गएकाले जनसङ्ख्या वृद्धि गर्न प्रोत्साहनस्वरुप भत्ता दिन लागेको वडाअध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । तीन बच्चा पाएपछि वडामा जन्म दर्ता गराए ती दम्पतीलाई नगद पाँच हजार भत्ता पाउने योजना अघि सारेको वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । आगामी २०८० साउन महिनादेखि यो भत्ता वितरण हुने अध्यक्ष पोखरेलको भनाइ छ ।

पछिल्लो समय जनसङ्ख्या घटेको भन्दै जनसङ्ख्या वृद्धि गर्नका लागि यस्तो कार्यक्रम बनाएको वडा कार्यालयले जनाएको छ । दुईभन्दा माथि बच्चा जन्माएर जन्म दर्ता गर्नेबित्तिकै भत्ता दिइने पोखरेलले बताउनुभयो । धेरै सन्तान जन्माएर नै काम गर्ने जनशक्ति उत्पादन हुने वडा अध्यक्षको बुझाइ छ । अध्यक्ष पोखरेलले जन्मदर वृद्धिमा प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याउन प्रदेश र सङ्घीय सरकारलाई आग्रह गर्नुभयो ।

दुईभन्दा बढी सन्तान जन्माउनेलाई भत्ता दिने निर्णयको भने कतिपयले विरोध गरेका छन् । दुई वटा सन्तान हुर्काउन पनि धौ–धौ भएका बेला तीन सन्तानलाई भत्ता दिन्छु भन्ने आफैँमा विरोधाभास भएको स्थानीय बासिन्दाको भनाइ छ ।

यसैबीच आगामी आव २०८०/०८१ मा सोही वडाले हलगोरु पाल्ने व्यक्तिलाई समेत भत्ताको व्यवस्था गरेको छ । हलगोरु पाल्ने किसानलाई वार्षिक दुई हजार ५०० भत्ता दिने अध्यक्ष पोखरेलले बताउनुभयो । हलगोरु पाल्ने किसानले आयात रोक्ने भएकाले यस्तो निर्णय गरिएको वडाअध्यक्षको भनाइ छ ।-गोरखापत्रबाट

प्रकाशित : २०८० असार १९ गते १४:१६

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI