भेडाबन सामुदायिक बनको अधिबेशन हुन सकेन,आर्थिक अनियमितताको आशंका

NAWALPUR TIMES
प्रकाशित : २०८० असार २७ गते २१:२६
भेडाबन सामुदायिक बनको अधिबेशन हुन सकेन,आर्थिक अनियमितताको आशंका

कावासोती – नवलपुरको विनयी त्रिवेणी वडा नम्बर १ स्थित सिसेनीमा रहेको भेडावन सामुदायिक वन समितिको कार्यसमितिको म्याद सकिएको ९ महिना पुगिसक्दा पनि साधरण सभा तथा अधिवेशन हुन सकेको छैन ।

सामुदायिक वनको कार्य समितिले आन्तरिक रुपमा वनको हिसाब किताब मिलाउने काम गर्न नसक्दा अधिवेशन हुन नसकेको हो । वनमा आर्थिक अनियमितता भएको र समिति भित्रै आर्थिक हिसाब किताब मिलान गर्न समस्या आएकाले समितिले नयाँ साधारण सभा र अधिवेशन गर्न नसकेको सामुदायिक वनका एक जना उपभोक्ताले नाम नबताउने सर्तमा बताए ।

“वन समितिले आर्थिक अनियमितता गरेको छ, अवलोकन भ्रमणमा ५ लाख भन्दा धेरै खर्च गरेको छ, यो बाहेक वन भित्र धेरै अनियमितता छ, यी सबै कुरा लुकाउन र मिलाउन कार्यसमितिले अधिवेशनलाई धकेल्दै गएको छ,’ उनले भने । ” समितिले भित्र भित्रै हिसाब मिलाउन खोजेको छ तर सकेको छैन” ।
आय ब्यय देखाउन नसक्दा साधारण सभा तथा अधिबेशनको मिति बारम्बार सार्ने गरिएको बुझिएको छ ।

यता सामुदायिक वनका अध्यक्ष ओमबहादुर कुमाल भने वनमा आर्थिक अनियमितता भएको भन्ने कुरा सत्य नभएको तर केही शिर्षकमा भएको हिसाब मिलान गर्न बाँकि रहेको स्विकार्छन । ‘कार्यसमितिको अवलोकन भ्रमणको खर्चको विषयमा केही समस्या हो तर बाहिर भनिए जस्तो आर्थिक अनियमितता छैन’, कुमालले भने ।

 

सबै उपभोक्ताहरु असारको समयमा खेतिपातीमा व्यस्त हुनु पर्ने भएकाले अधिवेशन र साधारण सभा नबोलाईएको भन्दै अध्यक्ष कुमालले सम्पुर्ण उपभोक्तालाई छर्लङ्ग हुने गरि हिसाब किताब सार्वजनिक सहित छिट्टैनै अधिवेशन र साधारणसभा गरिने बताए । बनका अध्यक्ष कुमालले बर्षा र खेतिपातीको बहाना देखाएर अधिबेशनको मिति धकेले पनि अनियमितता नै मुख्य समस्या भएको उपभोक्ताहरु बताउँछन ।
कुमाल २०७६ साल असोजमा भएको अधिबेशनबाट अध्यक्षमा निर्वचित भएका थिए

प्रकाशित : २०८० असार २७ गते २१:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI