त्रिवेणीधाम देखि वाल्मीकि आश्रमसम्म पैदलमार्ग बन्ने

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन ५ गते २२:३०
त्रिवेणीधाम देखि वाल्मीकि आश्रमसम्म पैदलमार्ग बन्ने

नारायण शर्मा/कावासोती ।

गण्डकी प्रदेशको त्रिवेणीधामबाट चितवन निकुञ्जभित्र रहेको वाल्मीकि आश्रम जाने बाटो बन्ने भएको छ ।

त्रिवेणीधामबाट झोलुंगे पुल तरेपछि नारायणी नदीको किनारैकिनार वाल्मीकि आश्रमसम्म पैदलमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्रिवेणी गजेन्द्रमोक्षधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपिन्द्रेश्वर भुसालका अनुसार प्रदेश सरकारबाट प्राप्त रकमबाट त्यहाँ ढुंगा ओछ्याएर पैदलमार्ग बनाइने भएको हो । करिब १६ सय मिटर लामो सडक निर्माण भएपछि तीर्थालुहरु नेपाली भूभाग हुँदै सोझै वाल्मीकि आश्रम आउजाउ गर्न सक्छन् ।

नारायणी नदीपारिको चितवन निकुञ्जभित्र रहेको वाल्मीकि आश्रम पुग्ने नेपाली भूभागबाट सडक नभएका कारण त्यहाँ तीर्थालुहरु भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

त्रिवेणीधाम गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिका-६ र ७ मा पर्दछ भने वाल्मीकि आश्रम वाग्मती प्रदेशअन्तर्गत चितवन निकुञ्जभित्र पर्दछ । चितवनको माडी नगरपालिकामा पर्ने वाल्मीकि आश्रममा नगरपालिकाको ध्यान पुगेको छैन । त्यहाँ हालै निर्माण सम्पन्न भएको झोलुंगे पुल तरेर नदी किनारैकिनार पैदलमार्गबाट भक्तजनहरु पुग्ने व्यवस्था मिलाएपछि वाल्मीकि आश्रममा पर्यटकीय चहलपहल हुने विश्वास छ ।

प्रकाशित : २०८० साउन ५ गते २२:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI