कविता : तपाईं सक्नुहुन्छ महोदय!!

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन १३ गते ९:३६
कविता : तपाईं सक्नुहुन्छ महोदय!!

मनिषा पौडेल

हो, तपाईं सक्नुहुन्छ

किशोरीहरुलाइ सुकर्म र कुकर्मको पथ छुट्ट्याउन!
मलाइ एक जल्लाद वा बुद्व बनाउन!
मानवताबिहिन मान्छे वा सामान्य मान्छे बनाउन!!
आखिर म माटो न हुँ!
कुद्न सक्नुहुन्छ महोदय!
मानवताका रङ्गहरु मेरो अस्तित्वमा!
तपाईं सक्नुहुन्छ।

महोदय,

मलाइ सफल भविष्यका बाटाहरु कोर्न सिकाउनुहोस् !

मलाइ घृणा गर्नेहरुलाइ पनि प्रेम गर्न सिकाउनुहोस।

सिकाउनुहोस मलाइ
प्रकृतिलाइ प्रेम गर्न!

माटोको सुगन्ध सुँघ्न !

असाहयहरुको बेदना र पीडा बुझ्न !

मान्छे भएर जन्मिने सबै मान्छे हुदैनन भनी बुझ्न!

प्राण भएका यावत् प्राणिहरुलाइ प्रेम गर्न!

सिकाउनुहोस महोदय,

फगत किताबका पानाहरु मात्र होइन, जीवनका जीवन्त पानाहरु पढ्न ।

काँचो माटो हुँ महोदय !
जे मन लाग्छ बनाउनुस!
तर
कायर होइन स्वाभिमानी छोरी बनाउनुस।

हातमा धनका पोकाको संग्रह होइन,
मष्तिष्कमा बिचार र चेतना बोक्ने बनाउनुस!

जे मन लाग्छ बनाउनुस महोदय।

डाक्टर बनाउनुस!
इन्जिनियर बनाउनुस!
नेता बनाउनुस!
पाइलट बनाउनुस!
समाजसेवी बनाउनुस
तर
दुई हात जोडि बिन्ती छ महोदय,

सबैभन्दा पहिला मलाइ एउटा सामान्य असल मानिस बनाउनुस।

महोदय,

मेरो कर्मको रेखा कोर्ने हात तपाइसङ्गै छ!
जीवनको बिधान तपाइसङ्गै छ!
नियम कानुन तपाइसङ्गै छ!
समाज तपाइसङ्गै छ!

जे इच्छा छ त्यही बनाउनुस!
तर
पितृसत्ताको मादकतामा मलाइ छोरो नबनाउनुस!

छोरी भएरै बाँच्न सक्ने बनाउनुस!

मैले पाएको कानुनका दफा र संम्बिधानका धाराहरुले कुनै अर्थ राख्दैन महोदय,

जबसम्म म शुल्कको अभावमा शैक्षिक सस्थाबाट निकालिनु पर्छ!
जबसम्म म पेटमा बटारिएको आन्द्रालाइ सोझ्याउन घरेलु नोकर बन्नुपर्छ!
जबसम्म म एकथान यौनि जोगाउन यौन पिपासुबाट पल पल त्रासमा जिउनुपर्छ!

मेरो अधिकारले मलाइ नै कुरि कुरि गर्दै गिज्याइरहेको बेला!!

तपाइले बनाएको ऐन, कानुन तपाइसङ्गै राख्नुस महोदय,

म त एउट पुर्ण नारी भएर!
म त बाउकी प्यारी छोरी भएर!
गुरुकी चेली भएर!
समाजकी नानी भएर!

स्वतन्त्रताको आकासमा स्वच्छन्द विचरण गर्न पाउनुपर्छ।
म किशोरी हु र किशोरी नै भएर बाँच्न पाउनुपर्छ।

 

कावासोती-६ नवलपुर

प्रकाशित : २०८० साउन १३ गते ९:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI