देवचुली नगरपालिकामा लगाईएको ताला खुल्यो : करका दर पुनरावलोकन हुने

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन १४ गते १२:२३
देवचुली नगरपालिकामा लगाईएको ताला खुल्यो : करका दर पुनरावलोकन हुने

कावासोती । देवचुलीका व्यवसायीहरुले नगरपालिकामा लगाएको ताला आईतबार खुलेको छ ।

करको दरमा ७ सय प्रतिशत सम्म वृद्धि गरिएको भन्दै संघर्ष समिति गठन गरेर व्यवसायीहरुले आन्दोलन सुरु गरेका थिए । आन्दोलनकै क्रममा उनिहरुले नगरपालिकाको राजस्व परामर्श उपसमिती संयोजक नगर उपप्रमुख पार्वता तिवारी को कार्यकक्ष र राजस्व शाखामा ताला लगाएका थिए ।

नगरपालिकाको गत असारमा सम्पन्न नगरसभाले करका दरमा ७ सय प्रतिशत सम्म बढाएको थियो । व्यवसायीहरु आन्दोलित भए पछि नगरपालिकाले शुक्रबार नयाँ व्यवसाय करका दररेट सम्बन्धमा अर्को सूचना नहुदा सम्म करदाखिला नगर्नका लागि सूचना जारी गरेको थियो ।

नगरपालिकाले नगरप्रवक्ताको संयोजकत्वमा ५ सदस्यीय कर पुनरावलोकन समिती गठन गरेर वार्तामा आउन आह्वान गरेका लागि वार्ताको माध्यमबाट समस्या समाधान गर्नका लागि ताला खोलिएको संघर्ष समितिले जनाएको छ । व्यवसायीहरुले गठन गरेको संघर्ष समितिका संयोजक नारायणप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै वार्ताका माध्यमबाट समस्या समाधान हुने र करका ०७९/८०को अवस्थामा आउने विश्वास व्यक्त गरेका छ्न ।

राजस्व परामर्श समितिको बैठकमा उपस्थित भएर व्यवसायीको हित विपरीत निर्णय गरेको भन्दै व्यवसायीहरुले देवचुली उद्योग वाणिज्य संघमा पनि ताला लगाएका थिए । देवचुली उद्योग वाणिज्य संघमा लगाईएको ताला पनि आजै खुलेको छ ।

प्रकाशित : २०८० साउन १४ गते १२:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI