अझै सुरु हुन सकेन ट्रमा सेन्टरको जग्गा प्राप्तिको प्रक्रिया

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन १८ गते १५:४६
अझै सुरु हुन सकेन ट्रमा सेन्टरको जग्गा प्राप्तिको प्रक्रिया

सन्जय भट्टराई, कावासोती । नवलपुर बासीको बहुप्रतिक्षित योजना ट्रमा सेन्टरका लागी संघीय सरकारले चालु आ.वको बजेटमा ५ करोड विनियोजन गरेको भए पनि ट्रमा सेन्टर निर्माणका लागी जग्गा व्यवस्थापन हुन भने हुन सकेको छैन ।

शहरी विकास तथा भवन निर्माण विभागले सघन शहरी तथा भवन निमार्ण आयोजना भरतपुरलाई देवचुली नगरपालिकामा ट्रमा सेन्टर निर्माण कार्य सुरु गर्न ५ करोड बजेट विनियोजन भएको र सो कार्यान्वयन गर्न जग्गा व्यवस्थापन गर्न आवश्यक कार्यार्थ पठाईएको पत्र सार्वजनिक भए सँगै जग्गा व्यवस्थापनका विषयमा प्रक्रिया अगाडी नबढेको देखिएको हो ।

ट्रमा सेन्टरको भवन निर्माण गर्नका लागी ५ करोड बजेट विनियोजन भएको र नगरपालिकाले जति छिटो जग्गा व्यवस्थापन गर्छ त्यति छिटै आफुहरुले काम सुरु गर्ने सघन शहरी तथा भवन निमार्ण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले बताए ।

देवचुली नगरपालिकाको २१ औं कार्यपालिका बैठकले ट्रमा सेन्टरका लागी देवचुली–१७ मा रहेको झराही वृक्षारोपण सामुदायिक वनको २७.४५ हेक्टर जग्गा उपलब्ध गराउन डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

सो वन क्षेत्रमा जग्गा उपलब्ध गराउन आग्रह गर्ने निर्णय बाहेक जग्गा प्राप्तिको थप काम अगाडि नबढेको देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद मरासिनीले बताए । “हिजो मात्रै बजेट परेको पत्र आएको छ, अब जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढाउछौ”, मरासिनीले भने ।

ट्रमा सेन्टरका लागी गत जेठ ८ गते बसेको देवचरली नगरपालिकाको कार्यपालिका बैठकले पहिलो प्राथमिकतामा राख्दै झराही वृक्षारोपण सामुदायिक वनको २७.४५ हेक्टर जग्गा प्राप्तीको लागी डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय सँगै विकल्पको रुपमा हालको देवचुली नगर अस्पताललाई समेत राखेको छ । वन क्षेत्रको जग्गा भएकाले जग्गा प्राप्ती प्रकृया झंझटिलो हुने तथा तथा यसका लागी मन्त्रीपरिषदको निर्णय आवश्यक पर्ने भएकाले देवचुली नगर अस्पताललाई नै प्राथमिकतामा राखिनु पर्ने भन्दै कार्यापालिकाका ६ जना सदस्यले बैठक बहिष्कार गरेका थिए ।

नगरपालिकाको २१ औं कार्यपालिका बैठकले झराही वृक्षारोपण सामुदायिक वनको जग्गामा ट्रमा सेन्टरको काम अगाडी बढाउन जग्गा प्राप्तीको प्रक्रियाका लागि आवश्यक सबै काम सम्पन्न हुन लामो समय लाग्ने देखिएको छ ।

नेपाल सरकारले जारी गरेको वन क्षेत्र प्रयोग गर्ने सम्बन्धि मापदण्ड सहितको कार्यविधी २०७६ को दफा ५ मा वन क्षेत्रमा योजना सन्चालन गर्न स्वीकृतीका लागी वन क्षेत्र प्रयोग गर्नु पर्ने तथ्यपरक कारण र औचित्य, योजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) लगाएतका स्वीकृत कार्यक्रम सम्बन्धि कागजात, सम्भाव्यता अध्ययन र विकलप अध्ययन प्रतिवेदन, वतावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन सम्बन्धित मन्त्रालयले वन मन्त्रालयमा बुझाउनु पर्ने व्यवस्था छ । कार्यविधीको दफा ६ बमोजिम योजना सम्बन्धि आवश्यक विवरण वन विभाग र डिभिजन वन कार्यालय मार्फत मागेर उपुयुक्त देखिए वन मन्त्रालयले जग्गा प्राप्तीको स्वीकृतका लागी मन्त्री परिषदमा पेश गर्नु पर्ने हुन्छ । मन्त्रीपरिषदको स्वीकृत पश्चात मात्रै यो ठाउँमा ट्रमा सेन्टर बन्ने बाटो खुल्छ ।

स्वास्थ्य मन्त्रालय मातहतको योजना भएकाले जग्गा प्राप्तीको आवश्यक प्रक्रिया स्वास्थ्य मन्त्रालयले सुरु गर्ने भनिएको भए पनि नगरपालिकाबाट जग्गा प्राप्तीको फाईल मन्त्रालय आई नपुगेको स्वास्थ्य मन्त्रालयको नीति तथा योजना शाखाका प्रमुख कृष्ण पौडेलले बताए । “वनको जग्गा हो भने नगरपालिकाबाट कागजात प्राप्त भए पछिे वन मन्त्रालय सँग समन्वय गरेर जग्गा प्राप्तिको काम अगाडी बढाउछौ”, पौडेलले भने, “अहिले सम्म कागजात सहितको फाईल आएको छैन फाईल प्राप्त भए पछि अध्ययन गरेर थप कुरा बताउन सकिन्छ ।”

वनको जग्गा प्राप्ति झंझटिलो र लामो हुने भएकाले तत्काल योजना कार्यान्वयनका लागी देवचुली नगर अस्पताललाईनै ट्रमा सेन्टरको रुपमा अगाडी बढाउनु पर्ने मत पनि देवचुलीमा देखिएको छ । नगर अस्पताललाईनै प्राथमिकतामा राखेर काम अगाडी बढाउदाँ ट्रमा सेन्टरको कामले गति लिने स्थानियहरु बताउछन । आधारभुत संरचना पनि भएको र करीब १
बिगाहा ५ कटठा जग्गा भएकाले ट्रमाको रुपमा यसलाई अगाडी बढाउन समस्या नहुने स्थानियहरु बताउछन ।

प्रकाशित : २०८० साउन १८ गते १५:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI