डिप ट्युबेल सिंचाइको सार कृषि विकासको प्रमुख आधार

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ ११ गते १६:२४
डिप ट्युबेल सिंचाइको सार कृषि विकासको प्रमुख आधार

कावासोती । पचासौं वर्षदेखि सिंचाइको अभावले कृषि पेसानै संकटमा परेको बेला डिप ट्युबेल निर्माण पछि यहाँका किसानहरू हर्षित छन् । कावासोती ३ पुरानो बजारका सैयौं घरधुरी र आश्रित परिवार सिंचाइ सुविधाबाट प्रत्यक्ष लाभान्वित भएका छन्। सिंचाइनै कृषि विकासको प्रमुख आधार रहेको उनिहरूको भनाइ रहेको छ।

समृद्व तराई मधेस सिंचाइ विशेष कार्यक्रम अन्तरगत पूर्व संघीय सांसद तिलक महतको पहलमा कावासोतीमा यो आयोजना लागु भएको पुरानो कावासोती डिप ट्युबेल सिंचाइ जल उपभोक्ता समितिका अध्यक्ष राज कुमार श्रेष्ठले जानकारी गराए। डिप ट्युबेलले यहाँको ४० बिगाहा जमीन सजिलै सिंचित गर्ने भएको छ।

बोरिङ हाउसको रिबन काटेर पूर्व सांसद महतले शनिवार डिप ट्युबेलको समुद्वघाटन गरे। उनले भने पाँच दशकदेखि बल्झिरहेको तपाईंरूको सपना यो डिप बोरिङले पुरा गरिदिएको छ। म जनताको प्रतिनिधि भए पनि नभएपनि सँधै तपाईंहरूकै साथमा रहने छु । यो ट्युबेलले यहाँका १ सय ८१ घरधुरीको १ हजार ५ जनसंख्यालाई प्रत्यक्ष लाभ पुर्याउँछ।

सिंचाइको कमान एरियामा सी आकारमा एक हजार मिटर भूमिगत पाइप बिच्छ्याइएको छ। जसमा एक दर्जन आउटलेट, दुईवटा एअर पाईप र क्षेत्र बिस्तारको लागि तिवटा टी फिटिङ गरिएको छ। जियोलोजिष्ट इन्जिनियर कपिल महर्जनका अनुसार डिप बोरिङको क्षमता प्रतिसेकेन्ड २५ लिटर रहेको छ। भूमिगत जल १८ फिट माथी ट्याङ्कीमा पठाई त्यहाँवाट सिधा वितरणको व्यवस्था मिलाइएको छ।

संघीय सरकारको सिंचाइ विशेष कार्यक्रम अन्तरगत यो परियोजना भैरहवा लुम्बिनी भूमिगत जल सिंचाइ व्यवस्थापन कार्यालयले कार्यान्वयन गरेको हो। जसको कुल लागत ८६ लाख ५८ हजार २ सय ३ रूपैयाँ ९९ सय पैसा रहेको आय,व्यय सार्वजनिक गरिएको थियो। उपभोक्ता समूहले ३ लाख ७१ हजार १ सय ९३ रूपैयाँ व्यहोरेको समुद्वघाटन कार्यक्रममा जानकारी गराइएको थियो।

कावासोती नगरपालिकाका प्रमुख विष्णु प्रसाद भुसालले सिंचाइको क्षेत्रमा यो डिप बोरिङ कोशेढुङ्गा साबित हुने बताए।२०७७ पुस १७ देखि कार्यारंभ गरेको उपभोक्ता समितिले ३ वर्ष ७ महिना २२ दिनमा निर्माण सम्पन्न गरि डिप ट्युबेलको समुद्वघाटन गरेको हो। डिप ट्युबेललाई कृषि सहकारी मार्फत संचालन गर्नेगरि आवश्यक प्रकया अघि बढाईएको साधारणसभामा जानकारी गराईएको थियो।

समुद्वघाटन कार्यक्रममा ९८ वर्षिया विवा बिक, ९३ वर्षिया लालमायाँ सारू, समितिका सक्रिय अभिभावक सदस्य तारा बहादुर कानुङ र डिप बोरिङ समितिलाई नजिकबाट सघाउने वडा सदस्य ऋषिराम बस्ताकोटीलाई दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियो। सोहि दिन बसेको सिंचाइ समितिको प्रथम वार्षिक साधारणसभाले सार्वजनिक महत्वका ५ वटा प्रस्ताव पास गरेको समितिले जानकारी गराएको छ।

प्रकाशित : २०८० भदौ ११ गते १६:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI