चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकाको विभिन्न स्थानमा आतंक मच्चाएको बाघ गएराति नियन्त्रणमा लिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक सहितको टोलिले राति भाले बाघ नियन्त्रणमा लिएको मध्यविन्दु नगरपालिका–२ का वडा अध्यक्ष रामभक्त अधिकारीले जानकारी दिए ।
केही दिन यता मध्यविन्दु नगरपालिकाको वडा नं. २ को नन्दपुर, सितापुर क्षेत्रमा बाघले बाख्रा र गाई खाएको थियो । सोमबार राति नन्दपुरका स्थानीय हेमाकान्त चौधरीको गोठमा दुई वटा गाईलाई बाघले मारेको थियो । बाघले मारेर खाएको गाईलाई बाघ बसेको अनुमान गरिएको स्थानमा लगेर राखिएको थियो । बाघ नियन्त्रणको लागि आएको प्राविधिक टोलिले राति नै मचानमा बसेर बाघको प्रतिक्षा गरेकोमा राति १ बजे बाघलाई डार्ट गरी (बेहोस) बनाई नियन्त्रणमा लिन सफल भएको हो ।
नियन्त्रणमा लिएको बाघ निकै ठुलो रहेको नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । यस अगाडी सोमबार दिउसो पनि मध्यविन्दु–४ बाट बाघको डमरु नियन्त्रणमा लिई उद्धार गरिएको थियो ।
पछिल्लो केही दिन यता चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र रहेको मध्यविन्दु नगरपालिकाको विभिन्न स्थानमा बाघको आतंक बढेको थियो । बस्तीमा नै पसेर बाघले घर पालुवा जनावरहरु मार्न थालेपछि साँझको समयमा स्थानीयहरु घरबाट बाहिर निस्कन समेत डराएका थिए ।
प्रकाशित : २०८० भदौ २७ गते ८:१९
No ads found for this position
Facebook Comment