बर्दघाटबाट नक्कली नोट र नोट बनाउने मेसिनसहित दुई युवक पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २५ गते १६:०३
बर्दघाटबाट नक्कली नोट र नोट बनाउने मेसिनसहित दुई युवक पक्राउ

बर्दघाट ।नवलपरासीबाट प्रहरीले नक्कली नोट र नोट बनाउन प्रयोग हुने सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–६ ठिमुरे बस्ने ३० वर्षीय कृष्णबहादुर विक र तनहुँको ऋषिङ गाउँपालिका–३ दानश्री बस्ने २५ वर्षीय सुरज विक रहेको प्रहरीले जानकारी दिएको छ । बर्दघाट नगरपालिका–४ फलफूल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली एक हजार दरको १३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित उनीहरु पक्राउ परेका हुन्।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स्टिकर टेप ६ थान, ग्लु १० थान, मसी, ब्रस, फलामे स्केल, कैची लगायतका विभिन्न सामानसहित पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : २०८० असोज २५ गते १६:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI