१६ हजार पशुचौपायालाई लम्पीस्किनविरुद्ध खोप

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक ३ गते ८:५७
१६ हजार पशुचौपायालाई लम्पीस्किनविरुद्ध खोप

कावासोती । नवलपुरमा १६ हजारभन्दा बढी पशुचौपायलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको छ । जिल्लामा हालसम्म १६ हजार बढी गाईभैँसीमा लम्पीस्किन रोगविरुद्धको खोप लगाइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख डा ऋषभ गुरागाईँले बताए ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पाँच लाख बराबर र स्थानीय तहहरूले सोही मात्रामा औषधि खरिद गरी किसानलाई वितरण गरिएको उनले बताए । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका आठवटै स्थानीय तहमा लम्पीस्किन रोगविरुद्धको खोप वितरण गरेको छ ।

सङ्क्रमण थप फैलन नदिन भन्दै जिल्लाका देवचुली, गैँडाकोट र कावासोती नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका आफैँले समेत खोप खरिद गरेर गाईभैँसीलाई लगाएका छन् ।

जिल्लामा लम्पीस्किन रोगबाट ५२१ पशुचौपाया मरेका छन् भने ६ हजार ९५२ गाईभैँसी यस रोगबाट सङ्क्रमित भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरको तथ्याङ्कमा देखिएको छ ।

यस रोगको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि कार्यालयले जिल्लामा हुने गाईभैँसीको आयात–निर्यातलाई नियमन तथा दर्तावाल पशु चिकित्सकले स्वास्थ्य परीक्षण प्रमाणीकरण गरेका पशुको मात्र आयात निर्यातको अनुमति कार्यालयले दिने गरेको कार्यालयले जनाएको छ । रासस

प्रकाशित : २०८० कार्तिक ३ गते ८:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI