दाङमा नवजात शिशुको हत्या प्रयासको आरोपमा सुत्केरी आमा पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक ९ गते १०:०८
दाङमा नवजात शिशुको हत्या प्रयासको आरोपमा सुत्केरी आमा पक्राउ

दाङ । दाङमा नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा सुत्केरी आमा पक्राउ परेकी छिन् । लमही नगरपालिका–७ कप्तानगञ्ज निवासी २५ वर्षीया निरम चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा तरकारी काट्न प्रयोग गरिने चक्कुले नवजात शिशुको घाँटीमा प्रहार गरेको पाइएको छ । आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिएका छन् ।

घाइते शिशुलाई उपचारको लागि लमही अस्पतालमा लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको छ । सुत्केरी आमाले आफैले जन्मदिएको शिशुको हत्या प्रयास किन गरिन् भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आमामा केही दिनदेखि झोक्रिने, टोलाउने जस्ता समस्या देखिएको थियो ।

प्रकाशित : २०८० कार्तिक ९ गते १०:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI