रसायनको प्रयोग गरिएको भारतीय फूल स्थानीय किसानको लागी टाउको दुखाई

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक २१ गते १६:३२
रसायनको प्रयोग गरिएको भारतीय फूल स्थानीय किसानको लागी टाउको दुखाई

कावासोती । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकिए सँगै बजारमा सयपत्री फूलको माग बढन लागेको छ । सरकारले तिहारमा स्वदेशी उत्पादनले माग धान्न सक्ने भएकाले गत कार्तिक १ गते देखि भारत बाट आउने फूलको आयत अनुमती पत्र सिफारिस जारी गर्न बन्द गरेको भए पनि बजारमा रसायन प्रयोग भएको भारतिय फूल भित्रिने चिन्ताबाट नवलपुरका किसानहरु पनि चिन्तित देखिएका छन भने भारतबाट आएका फूल स्वास्थ्यका लागी हानीकारक हुने विज्ञहरुले बताएका छन ।

भारतिय व्यापारीले तिहार आउन भन्दा १५ दिन अगाडी नै बोटबाट टिपिएको फूल फर्मालिनको प्रयोग गरेर नेपाल सम्म ल्याउने गर्दछन । फर्मालिनको प्रयोग गरेर राखिएको फुलको माला लगाउदाँ एर्लजी हुने तथा छाला सम्बन्धि रोगहरु लाग्ने सक्ने कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए ।“भारतबाट यहाँ सम्म फूल ल्याउदाँ व्यापारीहरुले फर्मालिन नामको रसायनको प्रयोग गर्छन जस्ले प्रत्यक्ष मानव स्वास्थ्यमा असर पार्छ, त्यसैले नेपालमै उत्पादन गरिएका फूलको प्रयोग मानव स्वास्थ्यका लागी पनि राम्रो हुन्छ”, तिवारीले भने ।

फर्मालिनको प्रयोग गरिएको वस्तुको प्रयोगले छाला जन्यरोगहरु निम्तिने खतरा हुने मध्यविनदु जिल्ला अस्पतालकाका मेडिकल सुपरिटेन्डेन्ट डा.जितेन्द्र कंडेले बताउछन । फर्मालिन प्रयोग गरिएको फूलको माला लगाउदाँ छालाको एर्लजी हुने, चिलाउने, रातो डाबर आउने तथा यस्को गन्धले श्वासप्रस्वासमा पनि समस्या आउने डा.कंडेलले बताए ।

यस वर्ष नवलपुरमा करीब ७ देखि ८ हेक्टर क्षेत्रफलमा सयपत्री फूलको खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख तिवारीले बताए । उनका अनुसार लागत र बजार मुल्यका हिसाबले नवलपुरमा उत्पादन हुने फूलको ३ देखि ४ करोड सम्मको बजार मुल्य रहने छ ।

भारतबाट आउने फूलहरु नेपाली उत्पादन भन्दा सस्तो हुने भएकाले स्थानिय उत्पादनले बजार पाउन नसक्ने हो कि भन्ने चिन्ता किसानलार्ई रहेको छ । यस वर्ष नवलपुरको गैडाकोट, देवचुली, कावासोती, मध्यविन्दु,विनयी त्रिवेणी र बौदीकालीमा सामुहिक तथा व्यक्तिगत रुपमा फूल खेति गरिएको छ ।

गैडाँकोट नगरपालिकाको वडा नं ४ र ८ मा सामुहिक रुपमा फूल खेति गरिहेका राम काप्रीले अहिलेको प्रमुख समस्या भनेको भारतिय फूल रहेको बताए । स्थानिय उत्पादनको तुलनामा भारतिय फूलको लागत कम पर्ने भएकाले व्यापारीको रोजाईमा भारतिय फूल पर्ने गरेको उनले बताए । मानव स्वास्थ्यलाई असर गर्ने रसायन प्रयोग गरिएको भारतिय फूलमा लागत कम पर्ने भएकाले व्यापारीहरुले नेपाली फूललाई महत्व नदिने गरेको तर आफुहरुले स्थानिय स्तरमा उत्पादन गरेको फूल केही महङगो भए पनि स्वास्थ्यमा असर नपर्ने उनको भनाई थियो ।

बौदीकाली गाउँपालिका वडा नं २ डेढगाउँमा सामुहिक सयपत्री खेती गरेको खहरे कृषि समुह पनि उत्पादन भएको फूलको बजारको सुनिश्चितता नहुदाँ समस्यामा परेको डेढगाउँका यादव ओझाले बताए । यो समुहले १ हजार बोट सयपत्री फूल तयार पारेको भए पनि बजारको सुनिश्चितता नभएको उनले बताए । “तिहार आईसक्यो हामी बजार खोज्दै छौं, व्यपारीलाई पर्खदै छौ,” ओझाले भने । यहाँको नजिकमा पर्ने नवलपुरको कावासोती र गैडाँकोट, चितवनको नारायणघाट बजार र पोखरामा समेत स्थानियरुपमा सयपत्री फूलको खेती बढेकाले बजारको समस्या रहेको उनको भनाई थियो ।

कावासोतीमा विगत केही वर्ष देखि फूल खेति गरिरहेका कावासोती ५ का भेषराज गाहा बजार भन्दा पनि मुख्य समस्या भारतिय फूलनै रहेको बताउछन । स्थानीय स्तरमा उत्पादन भएका अर्गायानिक फूल भन्दा रसायन प्रयोग गरिएको भारतिय फूल सस्तो हुनुले समस्या आएको उनको भनाई थियो । “ग्राहकले गुणस्तर भन्दा पनि सस्तो फूल खोज्ने चलन छ, भारतबाट आउने फूल स्वास्थ्य प्रतिकुल छ भन्ने चेतना जनमानस मा पुगिनसकेकाले यस्तो समस्या आएको हो”, उनले भने ।

सरकारले भारतीय फूल आयतमा प्रतिबन्ध लगाउनु पर्ने माग उठिरहेको भए पनि यसको सुनुवाइ नहुदाँ आगामी दिनहरुमा भरखरै सुरु भएको फूल खेतीबाट विस्थापित हुन पर्ने चिन्तामा किसान रहेका छन ।

प्रकाशित : २०८० कार्तिक २१ गते १६:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI