विदेश बिर्साउने बाख्रा, अदुवा, अम्रिसो र सुन्तला

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष ३ गते १६:३९
विदेश बिर्साउने बाख्रा, अदुवा, अम्रिसो र सुन्तला

सन्जय भट्टराई, कावासोती । पाँच वर्ष संयुक्त अरब ईमिरेटस बसेर बिदामा आएका बुलिङ्गटार ४ देउरालीका दलबहादुर आले बिदा सकिए पनि फर्किएन । युएईको राम्रो कमाई छोडेर गाउँकै माटोमा काम गरेर परिवार चलाउन कस्सिएका दलबहादुरलाई बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाले विदेश बिर्साईदियो ।

दैनिक बिहान सबेरै उठेर घरबाट लगभग ३५ मिनेटको पैदल दुरीमा  हुर्‍यान डाँडामा रहेको उनको आफ्नै बाख्रा फर्ममा श्रीमती सहित पुग्ने दलबहादुर आलेको दैनिकी यति बेला कृषिकर्मले भरिएको छ । यूएईमा वार्षीक ३ लाख बढि नेपाली रुपियाँ कमाउने उनी गाउँ फर्किए सँगै बाख्रा मात्रै पालेनन, आफ्नै ७ रोपनी जति जमिनमा अदुवा लगाए, पाखामा अम्रिसो रोपे अनि केही बोट सुन्तला हुर्काए ।

बिस्तारै बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाले आम्दानी दिन सुरु गरेपछि उनले विदेशनै बिर्सिए । उनले विदेश मात्रै बिर्सिएनन, परिवार सँगै साँझ बिहान घरको खाना खाएर गरेको कृषि कर्मबाट आएको आम्दानीले उनलाई आत्मसन्तुष्टि प्रदान गर्‍यो ।

देउराली बाख्रा फर्म दर्ता गरेर उनले सुरु गरेको व्यवसायीक बाख्रा पालनबाट खोरमा ७० वटा बाख्रा पु¥याएका छन । बाख्रा बाट वार्षिक १ लाख ५० हजार आम्दानी हुदैँ आएको र फर्मलाई अझै बिस्तार गर्ने उनले बताए । गत वर्ष अदुवाको भाउ घटेको भए पनि यस वर्ष अदुवाले राम्रो भाउ पाएकाले आम्दानी पनि राम्रो हुने उनले बताए । अदुवाबाट वार्षिक १ लाखको हाराहारीमा आम्दानी हुने गरेको उनले बताए ।

“सुन्तला र अम्रिसो चाहि अलि कम उत्पादन हुन्छ, यो दुवैबाट वर्षको ५० हजार जति आउछ”, उनले भने । बाख्रा फर्ममा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट प्राविधिक सहयोग पाउने गरेको उनले बताए । “आफ्नो फर्ममा आफ्नो काम आफै गर्छु, विदेश बस्दा ३ लाख कमाउथे, यहाँ त्यो भन्दा बढि कमाउछु, आमा, बुवा, श्रीमतीसँगै बस्दा आत्मसन्तुष्टि धेरै छ”, उनले भने ।

दलबहादुर जस्तै देउरालीका अर्का युवा लक्ष्य आले पनि विदेशबाट फर्किए पछि आफ्नो परिवारसँगै बसेर बाखा्र पालन तथा अदुवा खेती गरिरहेका छन । मलेसिया ४ वर्ष, कतार ३ वर्ष ९ महिना बसेर फर्किएका उनी आफ्नो बुबाले सुरु गरेको हु¥यान बाखा्र फर्मलाई व्यवसायीक बनाएर ३ वर्ष देखि काम गरिरहेका छन ।

बाबुले सुरु गरेको फर्ममा पुरै समय दिएर लागेका उनले विदेश नजाने निधो गरे । “विदेशको महिनाको लाख भन्दा यहाँको ५० हजारले सन्तुष्टि दिएको छ”, उनले भने । अहिले उनले फर्ममा ७० भन्दा धेरै बाख्रा पु¥याएका छन । बाख्रा सँगै उनले अदुवा, अम्रिसोको खेति पनि गरेका छन ।

दलबहादुर जस्तै उनी पनि परिवार सँगै बसेर बाख्रा पालन, अदुवा खेती र अम्रिसो बाट भएको आम्दानीले खुसी भएका छन । “करीब ८ वर्ष विदेशमा धेरै हण्डर खाए, वर्षको २ लाख कमाउन पनि मुस्क्लि थियो अहिले परिवार सँगै बसेर ३ देखि ३ लाख ५० हजार सम्म वर्षमा आम्दानी भएको छ”, उनले भने ।

दलबहादुर र लक्ष्य जस्तै बुलिङ्गटार ४ देउरालीका प्राय सबै परिवारले अदुवा र अम्रिसोको खेति गरेका छन । यस वर्ष अदुवाले राम्रो भाउ पाएकाले हरेक परिवारले औसतमा ७० देखि ८० हजार सम्म अदुवाबाट आम्दानी गरेको बुलिङ्गटार ४का वडा अध्यक्ष मिनबहादुर आलेले बताए ।

यातायातको सुविधा भएक कारणले बाख्रा, अदुवा, अम्रिसो र सुन्तलाका लागी व्यापारीहरु गाउँमै पुग्ने गरेको उनले बताए । देउरालीका प्राय प्रत्येक घरबाट १ जना वैदेशिक रोजगारमा गएको भए पनि दलबहादुर र लक्षको कृषि कर्म अरु युवाका लागी उदाहरण बनेको वडा अध्यक्ष आलेले बताए ।

 

प्रकाशित : २०८० पुष ३ गते १६:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI