प्रहरीलाई झुक्क्याउन कपडा फेर्ने ‘चोर’

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ ३ गते २०:५६
प्रहरीलाई झुक्क्याउन कपडा फेर्ने ‘चोर’

कावासोती । ललितपुरमा चोर्न जाँदा एकथरी कपडा र  चोरेपछि कपडा फेरेर हिँड्ने चोर भेटिएका छन् । उनी हुन्, दोलखाको शैलुङ्ग गाउँपालिका–४ घर भएका रघुनाथ बस्नेत । ४० वर्षीय बस्नेत भक्तपुरको निकोसेराबाट पक्राउ परेका हुन् ।

अनुसन्धान अधिकृतहरुलाई छक्याउन उनले कपडा बदल्ने गरेको ललितपुरका एसएसपी शेखर खनालले बताए । प्रहरी वरिष्ठ उपरीक्षक खनाल भन्छन्,‘आरोपीले चोर्न जाँदा एउटा कपडा लगाएर घरमा पस्ने र निस्केर एकान्त ठाउँमा पुगेपछि अर्को कपडा परिवर्तन गरेर हिँड्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।’

आरोपी रघुनाथ बस्नेत असोज ३ मा राष्ट्रपतिबाट कैद मिनाहा पाएर निस्केका हुन् । संविधान दिवसको अवसरमा निस्केका उनी मंसिर र पुसमा दुई वटा ठुला चोरीमा संलग्न भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । दुई महिनाको अवधिमा बस्नेतले ६१ लाख बराबरको धनमाल चोरेको आरोप छ ।

झम्सिखेलस्थित ठाकुर नाथ ढकालको घरबाट उनले पुस १ मा ३७ लाख १६ हजार बराबरको धनमाल चोरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मंसिर १७ मा उनले सानेपास्थित सुप्रिया राईको डेरा फोडेर २४ लाख ७६ हजार बराबरको धनमाल चोरेको अनुसन्धानबाट थाहा भएको छ । उनले चोरेको केही सामानहरु प्रहरीले बरामद गरेको छ ।

रघुटना बस्नेत अहिले १२ औँ पटक पक्राउ परेका हुन् । १३ वर्षदेखि उनी अपराधमा संलग्न रहेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । विदेशीहरु बस्ने घरलाई लक्षित गरेर चोर्न पस्ने उनी कम्तीमा एउटा घरमा ३–४ घण्टा बिताउँछन् । चोरेर निस्केपछि भक्तपुरस्थित डेरामा जान उनले घुमाउरो बाटो प्रयोग गर्ने गरेको थाहा भएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्,‘सानेपामा चोरेर सिधै भक्तपुर नगएर उनी त्रिपुरेश्वर हुँदै सोह्रखुट्टे पुगेर फेरी रत्नपार्कमा आएर गाडी चढेर जाने गरेको भेटिएको छ ।’

पुस २४ मा पक्राउ गरेर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर आरोपीबारे अनुसन्धान भइरहेको एसएसपी खनालले जानकारी दिए । सानेपा र भनिमण्डलमा विदेशी नागरिकको डेरामा भएको चोरीमा पनि उनी संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०८० माघ ३ गते २०:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI