छोरी अन्माएको खुशीमा गाउँमा दिनभरी बिजुली

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ ७ गते १५:३५
छोरी अन्माएको खुशीमा गाउँमा दिनभरी बिजुली

बोमलाल गिरी, नवलपुर । अरु समय यतिबेला चकमन्नै घाम लाग्ने गरेको भए पनि जाडो समय भएकाले होला गाउँ नै हुस्सुले ढाकेको छ । तत्काल हुस्सु फाटेर घाम लाग्ने अवस्था पनि देखिएको छैन । तर पनि बुलिङटार वडा नं. ४ देउरालीमा रहेको रुपीसरा पुलामीको होटल भित्र बिहान ११ बजे पनि उज्यालो देखिएको छ । किनकी उहाँको होटलमा तीन वटा विजुलीका बल्ब झलमल्ल बलेका छन् । रुपीसराको मात्र होइन, देउरालीका सबै घरमा दिनभरी नै बत्तिको उज्यालो छ ।

यहाँ यसरी दिनभरी विजुलीको अनुहार देख्न पनि विशेष अवसर नै जुर्नुपर्छ । आज त्यस्तै अवसर जुरेको छ । स्थानीय रमानसिंह अस्लामी मगरले आफ्नी छोरी अन्माएर पठाएको खुशीयाली छ । त्यही खुशीयालीमा गाउँमा दिनभरी बिजुली छोडिएको छ ।
हुन त यहाँका वासिन्दा विजुलीको पर्खाइमा बसेको वर्षौ भइसकेको छ । अझैसम्म गाउँमा राष्ट्रिय प्रशारण लाइन पुग्न सकेको छैन । सुगम जिल्लाको दुर्गम मानिने बुलिङटारका स्थानीयले देशा खोलाबाट निकालेको लघुजलविद्युत आयोजनाबाट विजुली पाएका छन् । अरुबेला साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र लघुजलविद्युतको बिजुली छोडिन्छ । तर दिउँसोमा विजुली बल्न भने यस्तै बिवाह, ब्रतबन्ध, भोज भतेर अथवा चाडपर्व नै कुर्नु पर्ने रुपीसराले बताउनुभयो ।

यसरी विशेष अवसरमा छोडेको विजुलीको पैसा उपभोक्ताले तिर्नुपर्दैन । बरु जसले बिजुली माग गरेको हो, उसैले पावर हाउसमा बस्ने अपरेटरलाई खाना खर्चस्वरुप दिनको सात सय रुपयिाँ तिर्नुपर्छ । अपरेटरले राती काम गरेको भने छुट्टै तलव पाउने गर्छन् । यो पटक भने छोरीको बिवाहका लागि रमानसिंहले पैसा तिर्नु भएको छ ।


चाडपर्व, बिवाह, ब्रतबन्ध पर्यो र त्यही अनुसारको माग भयो भने पावर हाउसबाट दिउँसो पनि विजुली छोड्ने गरेको आयोजनाका कोषाध्यक्ष मुपाल लुङगेली मगरले बताउनुभयो । राती बालेको बिजुलीको एउटा बल्बको २५ रुपियाँ तिर्नुपर्छ । दिउँसोमा सधै चाहेको बेला बिजुली नपाए पनि रातीमात्र पाउने र हरेक बल्बको २५ रुपियाँ मात्र तिर्नु पर्ने भएकाले राष्ट्रिय प्रशारणको भन्दा सस्तोमा उपभोक्ताले विजुली प्रयोग गर्न पाइरहेका छन् ।

अर्खला लघुजलविद्युत आयोजनाबाट २६ किलोवाट विद्युत निकाली तीन सय घरधुलीलाई वितरण गरिएको कोषाध्यक्ष मगरले जानकारी दिनुभयो । वर्षौ कुर्दा पनि राष्ट्रिय प्रशारण लाइनले देउराली गाउँलाई नछुने देखेपछि स्थानीय अर्को लघु जलविद्युत उत्पादनमा लागे । देवचुल–पानीघाट लघु जलविद्युत उपभोक्ता समितिको पावर हाउसबाट ३४.५ किलोवाटको विजुली निकालियो । जसले अहिले बुलिङका झण्डै चारसय घरधुरीलाई विजुली बाल्न पुगेको कोषाध्यक्ष मगरले बताउनुभयो ।

 

नेताले बिर्से चुनावी प्रतिवद्धता

सस्तो परेपनि राष्ट्रिय प्रशारणको महत्व धेरै छ । अरुबेला दिउँसोमा लघु जलविद्युतको बिजुली नपाउने भएकाले टेलिभिजन, फ्रिज चल्ने कुरै भएन । रातीमा सकेसम्म खाना पकाउनका लागि राइस कुकर प्रयोग नगर्न भनिएको छ । तर पाएसम्म स्थानीयले राइसकुकरमै भात पकाउँछन् ।

‘नपकाएर के गर्नु ? राष्ट्रिय प्रशारणको लाइन आउला भन्ने आश मात्र भयो, नेताहरु सधैजसो चुनावमा बिजुली पुर्याइदिने आश्वासन मात्र देखाउँछन्, प्रतिवद्धता पूरा गर्ने कहिल्यै होइन, स्थानीय युवा सविन आलेले आक्रोसित हुँदै भन्नुभयो ।

दिउँसोमा पनि बत्ति बाल्नका लागि स्थानीय केहीले सोलार बत्ति जडान गरेका छन् । बुलिङटार २ का अध्यक्ष कमलराज बकावलले हुनेखानेहरुले सोलार जडान गरेको र अन्य व्यक्ति राष्ट्रिय प्रशारण लाइनको पर्खाइमा रहेको बताउनुभयो । अध्यक्ष मगरका अनुसार बिजुलीको समस्या माथिल्लो भागभन्दा पनि करिडोरले छोएको जिल्लाको तल्लो भागमा बढी छ । माथिल्लो भागमा सुन्तला, अदुवा, अम्रिसो, आलु आदिबाट आम्दानीको राम्रो श्रोत भएकाले पनि तल्लो भागका स्थानीय बढी समस्यामा रहेको उहाँको भनाइ छ ।

त्यस्तै वडा नम्बर १ का अध्यक्ष दिलबहादुर सूर्यबंशीका अनुसार १ र २ वडामा राष्ट्रिय प्रशारण लाइन शून्यमा छ । त्यसैले सौर्यबत्तिका लागि पालिकाले पनि सहयोग गरेको उहाँले बताउनुभयो ।
यो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका प्रभावशाली नेता डा शशांक कोईराला ४ पटकसम्म प्रतिनिधि सभामा निर्वाचित हुनुभयो । यसै क्षेत्रबाट २०७४ मा प्रदेश सभा चुनावमा निर्वाचित भएर कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नुभयो । गत २०७९ को निर्वाचनबाट प्रदेश सभामा निर्वाचित नेपाली कांग्रेस नवलपुरका जिल्ला सभापतिसमेत रहेका महेन्द्रध्वज जिसी अहिले मन्त्री हुनुहुन्छ । हरेक चुनावमा उहाँहरु सबैको प्रतिवद्धता यो पालिकालाई राष्ट्रिय प्रशारण लाइनसँग जोड्ने हुन्छ ।

‘कोइरालाले हरेक चुनावमा राष्ट्रिय प्रशारण लाइनको मुद्धा उठाउने प्रतिवद्धता व्यक्त गर्दै चुनाव जित्ने गर्नुभएको थियो, स्थानीय शिक्षक लोकप्रसाद रामदामले भन्नुभयो, ‘तर जितेपछि चुनावका बेला उठाएका बाचा पनि बिर्सने प्रबृति कोइरालामा पनि देखियो ।’


अहिले प्रगतीनगरको सवस्टेशनबाट जोडेर अर्खलाको पोखरीमा सव स्टेशन बनाउने काम भइरहेको छ । आधाभन्दा बढी काम सकिएको बुलिङटार ४ का अध्यक्ष मिन बहादुर आलेले बताउनुभयो । ‘अहिले ट्रान्समिशनको काम भइरहेको र छिटै राष्ट्रिय प्रशारणले छुनेमा हामी सबै आशावादी छौं, अध्यक्ष आलेले भन्नुभयो ।

प्रकाशित : २०८० माघ ७ गते १५:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI