“सडक देउ, सक्दैनौ भने लुम्बिनीमा गाभ्देउ”

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ ७ गते १७:४४
“सडक देउ, सक्दैनौ भने लुम्बिनीमा गाभ्देउ”
दुम्किबास त्रिवेणी सडकको अनुगमन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे

सन्जय भट्टराई,कावासोती नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ र ७ का स्थानीयले दुम्किबास त्रिवेणी सडक बनाएर पालिकाको केन्द्र र जिल्ला सदरमुकाम जोडन नसक्ने हो भने आफुहरुलाई लुम्बिनी प्रदेशमा गाभ्दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छ्न ।

गण्डकी प्रदेशको गौरवको आयोजना रहेको त्रिवेणी कोरला मार्गको दुम्किबास त्रिवेणी सडकखण्ड निर्माण नहुँदा विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई आफ्नै गाउँपालिकाको केन्द्र दुम्किबास बजार आइपुग्न ४० किलोमिटर बढीको दूरी पार गर्नुपर्ने बाध्यता अझै पनि हट्न सकेको हो । राज्य पुनःसंरचना भएसँगै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिकामा परेको पवित्र तीर्थस्थल त्रिवेणीधाम आसापासका दुई वटा वडाबाट गाउँपालिकाको केन्द्र दुम्किबास बजार पुग्न लुम्बिनी प्रदेशको बर्दघाट हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

राज्य पुनः संरचनामा गण्डकी प्रदेशलाई भारतसँग जोडने नाकाको रुपमा अगाडि बढाउने निर्णय भएसँगै हौसिएका विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई अहिले आफ्नै पालिकाको केन्द्रसम्म पुग्नका लागि पार गर्नुपर्ने लामो दूरीले दुर्गम नै बनेको महसुस हुन थालेको हो ।

राज्य पुनःसंरचना हुनु अगाडिको साबिक त्रिवेणी सुस्ता गाउँविकास समिति टुक्रिएर केही भाग लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिका र त्रिवेणी नाकासहितका केही क्षेत्र गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिकामा राखिएकाले  आफ्नै गाउँपालिकाका केन्द्र पुग्न लुम्बिनी प्रदेश हुँदै ४० किलोमिटरभन्दा बढीको यात्रा गर्नुपर्ने बाध्यता नहटेकाले त्यहाँका बासिन्दाले दुम्किबास त्रिवेणी सडकखण्ड निर्माण गरेर सञ्चालन नगरे आफूहरुका लागि लुम्बिनी प्रदेशमै गाभिदा सहज हुने बताउन थालेका छन् ।

“प्रदेशकै मुख्य नाका बन्ने भनेर गण्डकी प्रदेशमै बस्न स्वीकार गरेका थियौँ, अहिलेसम्म ४ जना मुख्यमन्त्री बनिसके तर बाटो बन्न सकेन, अब पनि बाटो नबने लुम्बिनीमा गाभिन पाउँ भनेर आन्दोलनमा जानुको विकल्प छैन”, स्थानीय रवि पौडेलले भने ।

“सुगम जिल्ला भनिए पनि पालिकाको केन्द्रसम्म पुग्न रु एक सय ५० भन्दा धेरै एकोहोरो भाडामै खर्च हुन्छ, आफ्नै साधन हुनेहरु काम सकेर त्यही दिन फर्कन सक्छन् होइन भने बास बस्नुपर्ने अवस्था हुन्छ”, वडा नं ६ का विशालबाबु भण्डारीले भने,“प्रदेशको नाका भनेर गर्व गर्ने कुरा मात्रै भएको छ ।”

यसै बिच ३ दिने भ्रमणका क्रममा नवलपुर आएका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गत शुक्रबार विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ का अध्यक्ष नुरेन्द्र शाहले ज्ञापनपत्र बुझाउदै दुम्किबास त्रिवेणी सडक तत्काल निर्माण गर्न आग्रह गरेका छ्न । ज्ञापनपत्रमा आफ्नै पालिकाको केन्द्र पुग्न लुम्बिनी प्रदेशका ३ वटा पालिका हुँदै ४०किलोमीटर दुरि पार गर्नु पर्ने बाध्यता भएको भन्दै सडक निर्माण नगरे आफुहरुलाई लुम्बिनीमा गाभ्दिन आग्रह समेत गरिएको छ ।

शुक्रबार गजेन्द्रमोक्ष दिव्यधाम विकास समितिको कार्यालय उदघाटन कार्यक्रम बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले त्रिवेणी–दुम्किबास सडक खोल्न आफ्नो पूर्ण शक्ति लगाउने बताउएका छन ।

गण्डकी प्रदेश सरकारको प्रमुख दायित्व र प्राथमिकतामा यो बाटो खोल्ने र गजेन्द्रमोक्ष धाम देखि मुक्तिनाथ सम्मको यात्रा सरल र सहज बनाउने रहेकाले मुख्यमन्त्री पाण्डेले यसका लागि पूर्ण शक्ति लगाउने बताएका हुन । निकुञ्ज र वन ऐनका कारण सडक निर्माणमा समस्या उत्पन्न भएकाले देखिएका समस्याको समाधान गर्न निकुञ्ज तथा वन ऐन संशोधन गरेरै भए पनि सडक निर्माणका लागि पहल गर्ने उनको भनाई थियो ।

गाउँपालिकाको केन्द्र दुम्किबास बजारदेखि त्रिवेणीसम्मको १९ किलोमिटर दुम्किबास त्रिवेणी सडकको काम अगाडि बढ्न नसक्दा उक्त गाउँपालिका–६ र ७ का बासिन्दा समस्यामा परेका हुन् । विसं २०६२ मा ट्र्याक खोलिए पनि सात किलोमिटर बाटो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले आफ्नो क्षेत्रमा पर्ने भन्दै बाटो निर्माणमा कानुनी जटिलता देखाएर अनुमति नदिँदा काम अगाडि बढ्न सकेको छैन ।

प्रकाशित : २०८० माघ ७ गते १७:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI