हराएको हात्ती खोज्न गएका निकुञ्जका कर्मचारी जंगली हात्तीको आक्रमणमा परेर घाईते

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ ११ गते १२:२२
हराएको हात्ती खोज्न गएका निकुञ्जका कर्मचारी जंगली हात्तीको आक्रमणमा परेर घाईते

कावासोती । चितवन राष्ट्रिय निकुञ्जको हराइरहेको एउटा भाले हात्ती खोज्दा अर्कै हात्तीसँग जम्काभेट हुँदा एक कर्मचारी घाइते भएका छन् । निकुञ्जको पूर्वी क्षेत्रमा रहेको जनकपुर पोस्टमा कार्यरत गेमस्काउट हेमलाल सुवेदी हात्तीको आक्रमणबाट घाइते भएको सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

माघ ८ गते सोमबार बिहानको घटना हो यो । यो घटनाले चितवन निकुञ्जमा थप नयाँ जंगली हात्ती डुल्ने गरेको पुष्टि भएको छ ।

पूर्वी क्षेत्रमै रहेको खगेन्द्रमल्ली पोस्टबाट ९ वर्षको भाले हात्ती ‘लक्कीगज’ डेढ महिनादेखि हराइरहेको छ । ‘लक्कीगज’ जनकपुर पोस्टवरपर देखा परेको सूचना आएपछि सुवेदीसहित प्राविधिकहरूको टोली उक्त क्षेत्रमा परिचालन भएको थियो । घरमा पालेको भए पनि बसिरहेको ठाउँबाट भागेर गएको हात्ती नियन्त्रणमा लिन अलि गाह्रो हुन्छ । हात्तीमाथि माहुत बसेपछि नियन्त्रणमा लिन सकिन्छ । तर भागेका हात्तीमाथि चढ्न सजिलो नहुने भएका कारणले डार्ट गरेर लठ्याएपछि मात्रै हात्तीमाथि चढ्न सकिने पशु स्वास्थ्य प्राविधिकहरू बताउँछन् ।

‘हराइरहेको लक्कीगज भेटियो’ भनेपछि त्यसैगरी नियन्त्रणमा लिन टोली खटिएको थियो । जनकपुर पोस्टदेखि लगभग ५ सय मिटर दक्षिणतर्फ राप्ती खोला ड्यामनजिक देखिएको हात्ती गहिरिएर हेर्दा ‘लक्कीगज’ नभएको पक्का भएपछि टोलीले नियन्त्रणमा लिन आवश्यक देखेन । ‘मान्छे देखेपछि हात्ती दौडेर आयो अनि हेमलाललाई आक्रमण गर्‍यो । पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार गराइरहेका हेमलालको अवस्था अहिले खतरामुक्त रहेको चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । सो घटनामा राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु स्वास्थ्य प्राविधिक किरण रिजाल र निकुञ्जका अर्का कर्मचारी सञ्जय पञ्जियार पनि सामान्य घाइते भएका छन् ।

चितवन निकुञ्जमा झुण्डबाट अलग रहेका जंगली भाले हात्ती रोनाल्डो, ध्रुवे र गोविन्देले बेला बेलामा मान्छेलाई सताइरहेका हुन्छन् । माडी क्षेत्रमा नाम नराखेको अर्को भाले जंगली हात्ती पनि डुल्ने सूचना अधिकारी तिवारीले बताए । यीबाहेक निकुञ्जको पूर्वी क्षेत्रमा दाह्रा नभएको जंगली भाले हात्ती मकुना पनि भर्खर देखा परेको छ ।

हेमलाललाई आक्रमण गर्ने जंगली भाले हात्ती यीभन्दा थप अर्को रहेको निकुञ्जका सूचना अधिकारी तिवारीको भनाइ छ । चितवन निकुञ्ज क्षेत्रमा समूहबाट अलग रहेका कम्तीमा ६ वटा हात्ती रहेको यो घटनाले पुष्टि गरेको छ । समूहबाट अलग रहने यस्ता हात्तीले मानवलाई हानी नोक्सानी गर्न सक्ने खतरा रहने विज्ञहरू बताउँछन् । स्वभाव बुझेर सोहीअनुरूपको व्यवहार गरेमा र प्रशासनले नियमित निगरानी र अनुमगन गरे हात्ती आक्रमक हुन नपाउने विज्ञहरूको भनाइ छ ।ईकान्तिपुरबाट

 

प्रकाशित : २०८० माघ ११ गते १२:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI