त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २२ गते ८:५६
त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

कावासोती । त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । उक्त खेल टियु क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

नेदरल्यान्ड्स ४ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गर्दा नेपालले ४ खेलबाट ४ अंक जोड्दै फाइनल खेल्न लागेको हो । नामिबिया भने ४ खेलमा ३ अंकसहित बाहिरिएको हो ।

यो सिरिजमा नेपाल र नेदरल्यान्ड्सको तेस्रो भेट हो । पहिलो भेटमा नेदरल्यान्ड्स र दोस्रो भेटमा नेपाल विजयी भएको थियो । पहिलो भेटमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको नेपालले दोस्रो भेटमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो ।

सुरुवाती दुई खेलमा पराजित भएको नेपालले त्यसपछिका दुई खेलमा पुनरागमन जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको नेपाल तेस्रो खेलमा नामिबियालाई ३ रन र चौथो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो ।

पहिलो दुई खेलमा नेपाललाई २ रन र नामिबियालाई ५९ रनले पराजित गरेको नेदरल्यान्ड्स तेस्रो खेलमा नेपालसँग ६ विकेटले पराजित हुँदा चौथो खेल नामिबियाविरुद्धको खेल भने वर्षाले अवरुद्ध भएको थियो ।

केही दिनअघि मात्रै टियु क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप एक दिवसीय क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिजमा नेपाल र नेदरल्यान्डको दुई पटक भेट भएको थियो । जसमा एक खेलमा नेपाल र एक खेलमा नेदरल्यान्ड्स विजयी भएका थिए ।

प्रकाशित : २०८० फागुन २२ गते ८:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI