बाघको मृत्युको कारण र मार्नेको पहिचान अझै हुन सकेन

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत २० गते ९:३०
बाघको मृत्युको कारण र मार्नेको पहिचान अझै हुन सकेन

कावासोती । नवलपुरको मध्यविन्दुमा गत महिना मारिएका २ वटा बाघको मृत्युको कारण पत्ता लाग्न नसकेको हो ।

गत फागुन ४ गते र फागुन १२ गते मारिएका २ वटा बाघको मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम पछि भिसेराको नमूना राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाईएको थियो ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले भिसेराको परिक्षण गरेर त्यसको रिपोर्ट समेत डिभिजन वन कार्यालय नवलपुरमा पठाएको जनाएको छ । नवलपुर टाईम्सले प्राप्त गरेको भिसेरा नमूना परिक्षणको रिपोर्ट अनुसार विधिविज्ञान प्रयोगशालामा ५ प्रकारका विषादी भए नभएको परिक्षण गर्दा पाचैँ प्रकारका विषादी दुवै बाघको भिसेराको नमूनामा फेला नपरेका हुन ।

गएको फागुन ४ गते मध्यविन्दु–१५ को अरुणखोलाको जंगलमा र फागुन १२ गते मध्यविन्दु नगरपालिकाको १५ मा भाले बाघ हत्या गरेर गाडिएको अवस्थामा फेला परेको थियो । ४ गते मृत फेला परेको बाघ विषाक्त खानाको कारण र १२ गते हत्या गरेर गाडिएको अवस्थामा फेला परेको बाघ करेन्ट लगाएर मारिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको थियो ।

फागुन ४ मा मृत फेला परेको बाघ विषादीका कारणले  मरेको प्रारम्भिक अनुसन्धानले बताए पनि भिसेराको नमूना परिक्षणमा विषादी पहिचान नहुदा अनुसन्धान समस्या आएको डिभिजन वन नवलपुरका प्रमुख बसन्तकेशब अधिकारीले बताए । जिल्लामा दुईवटा बाघ मारिए पछि बाघ मृत्युको तथ्य र कारण पत्ता लगाउन डिभिजन वन कार्यालयले अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अगाडी बढाएको थियो ।

फागुन १२ गते हत्या गरेर गाडिएको अवस्थामा बाघलाई करेन्ट लगाएर मारेको प्रारम्भिक अनुसन्धानबाट देखिए पछि जिल्ला प्रहरी कार्यालय नवलपुरले समेत अनुसन्धान अगाडी बढाएको छ । बाघ गाडेको आसपास पासो थाप्नका लागि बनाईएको डोबहरु फेला परेको र घटना स्थल नजिकै (करिब ५/६ सय मिटर) विद्युत लाईन भएकाले त्यही बाट हुक गरेर थापिएको पासोमा बाघ मरेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान अगाडी बढाएको हो । प्रहरीले शंकास्पद व्यक्तिहरुसँग सोधपुछ गरिरहेको र अनुसन्धानलाई अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलले बताए ।

भिसेरा नमूना परिक्षणमा विषादीको पहिचान नभए पनि बाघको हत्या भएकाले अनुसन्धानलाई नरोक्ने डिभिजन प्रमुख अधिकारीले बताए । “विषादी पहिचान नभए पनि अनुसन्धान रोकिदैन, हामी अनुसन्धानमै छौं, बाघ मार्नेहरुलाई कानुनी दायरामा ल्याएरै छोडछौ”, अधिकारीले भने ।

प्रकाशित : २०८० चैत २० गते ९:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI