विश्व वरीयतामा त्रिवि हजारभित्र

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १९ गते २३:२०
विश्व वरीयतामा त्रिवि हजारभित्र

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय यो वर्ष विश्व वरीयता (वर्ल्ड र्‍याङ्किङ) मा आठ सयदेखि एक हजारभित्र परेको छ । गत वर्ष एक हजार ३ सय ६०औं स्थानमा थियो । टाइम्स हायर एजुकेसन (टीएचई)ले सन् २०२१ को लागि गरेको सर्वेक्षणले उक्त वरीयता देखाएको हो ।

टाइम्सले हरेक वर्ष सेप्टेम्बर पहिलो साता सार्वजनिक गर्दै आएको छ । उसले शिक्षण, अनुसन्धान, साइटेसन, संस्थाको आय र अन्तर्राष्ट्रिय छविलाई सर्वेक्षणको मापदण्ड राखेको छ । जसमा त्रिविले शिक्षणमा १२.१, अनुसन्धानमा ७.२, साइटेसनमा ५०.४, संस्थाको आयमा ३३.४ र अन्तर्राष्ट्रिय छविमा ४५.५ गरी औषत २५.१ (३१.१ अंक) प्राप्त गरेको छ ।

उक्त सर्वेक्षण नतिजाले त्रिविमा पढ्ने विदेशी विद्यार्थीको संख्या शून्य प्रतिशत रहेको देखाएको छ । अर्थात् यहाँ विदेशी विद्यार्थी पढ्दैनन् । त्रिविअन्तर्गत विश्व भाषा क्याम्पस रहेको तर भाषा पढ्नेलाई मान्यता दिइदैन । उच्च तहको अध्ययन तथा अनुसन्धान गर्ने विदेशी विद्यार्थीलाई मात्र मान्यता दिइन्छ ।

त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक भूपप्रसाद धमलाले यो वर्ष सुधार साइटेसनमा उल्लेख्य सुधार भएको दावी गरेका छन् । ‘टाइम्स संस्थासँग तीन वर्षदेखि सम्पर्कमा छौं,’ सन् २०१८ देखि सम्पर्कमा रहेको उल्लेख गर्दै धमलाले भने, ‘हरेक मार्च महिनामा सूचना माग्छ । त्रिविले औपचारिक रूपमा फर्म भरेर पठाउँछ । उसले त्रिविबारे वेबसाइट लगायत माध्यमबाट बुझ्छ । त्यसैका आधारमा त्रिवि उसको ऱ्याङ्किङमा पर्दैआएको छ । यो पटक अनुसन्धान र साइटेसनमा राम्रो भएको हो ।’

विभिन्न संकायका प्राध्यापकहरूले गरेका अध्ययन अनुसन्धान तथा प्रकाशनलाई अरुबाट साइटेसन तारिफयोग्य रहेको बताए । टाइम्सले अन्तर्राष्ट्रिय छविअन्तर्गत विश्वविद्यालयमा अध्ययनरत विदेश विद्यार्थी, विदेशी प्राध्यापक र विदेशी विश्वविद्यालयसँगको सम्बन्धलाई केलाउने गरेको छ ।

त्रिविका ६२ आंगिक, सम्बन्धनमा सामुदायिक र निजी गरी १ हजार ८४ क्याम्पस (कलेज) छन् । स्नातक, स्नातकोत्तर, एमफिलका गरी ४ लाखभन्दा बढी विद्यार्थी पढ्छन् । तर विदेशी न्युन छन् । ‘विदेशी विद्यार्थी हुँदै नभएको होइन,’ विश्व भाषा क्याम्पस, इस्टिच्युट अफ मेडिसिन, अरु संकायमा थोरै संख्यामा विदेशी विद्यार्थी रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक धमलाले भने, ‘राष्ट्रिय विद्यार्थीको अनुपातमा विद्यार्थीमा ०.५ भन्दा कम र त्यसलाई संख्यामा उल्लेख गर्न नमिल्ने भएकाले शून्य देखिएको हो ।’ अब अन्तर्राष्ट्रिय विद्यार्थी र भिजिटिङ प्रोफेसर बढाउने प्रयास हुने उनले बताए । भने, ‘अब छलफल गर्छौं । नीति बनाउछौं र हुनेछ । तर यो वर्ष कोभिड–१९ कारण सम्भव भएन ।’

टाइम्सले सन् २०१९ मा गरेको सर्वेक्षणले त्रिवि ८ सय १ देखि एक हजारको सूचीमा परेको थियो । त्यसैगरी सन् २०१८ मा ३९२५ औं स्थानमा रहेको थियो । उसले हरेक वर्ष मापदण्ड तथा सूचक तोकेर अनलाइन फर्ममार्फत् सर्वेक्षण गर्ने गरेको छ ।

सन् १९५९ मा स्थापित त्रिभुवन विश्वविद्यालय संरचना, विद्यार्थी संख्या, आयस्रोतका आधारमा ठूलो विश्वविद्यालय मानिन्छ । तर, अध्ययन, अध्यापन, अनुसन्धान, परीक्षा तथा नतिजाका हिसाबले उत्साहप्रद नरहेको विज्ञले उल्लेख गरेका छन् ।

विश्वविद्यालयका प्राध्यापन जनशक्तिले मुलुकका निम्ति आवश्यक उल्लेख्य अनुसन्धान गर्न र गराउन नसकेको जनाइएको छ । राजनीतिक हस्तक्षेप, दूरदर्शी पदाधिकारी र प्रशासक, समयानुकुलको कर्मचारी नहुनु, चुस्तदुरुस्त व्यवस्थापन नहुँदा त्रिवि सुधार हुन नसकको बताएका छन् ।

विश्वका १० उत्कृष्ट विश्वविद्यालय

टाइम्सले घोषणा गरेअनुसार बेलायतको युनिभर्सिटी अफ अक्सफोर्ड सर्वोत्कृष्ट परेको छ भने बेलायतकै युनिभर्सिटी अफ क्याम्ब्रिज छैटाै‌ंमा परेको छ । दोस्रोदेखि पाँचौंसम्म अमेरिकाका स्ट्यान्फोर्ड, हावर्ड, क्यालिफोर्निया इन्सटिट्युट अफ टेक्नोलोजी र म्यासचुयएट्स इन्टिट्युट अफ टेक्नोलोजी छन् । सातौैदेखि दसौंसम्म अमेरिकाकै युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्क्ली, यल युनिभर्सिटी, प्रिन्सटन र युनिभर्सिटी अफ सिकागो रहेका छन् ।

प्रकाशित : २०७७ भदौ १९ गते २३:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI