संस्कृत विश्वविद्यालयमा इन्जिनियरिङ विषय थपिँदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २२ गते १०:३०
संस्कृत विश्वविद्यालयमा इन्जिनियरिङ विषय थपिँदै

काठमाडौँ, पुस २२ गते । नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)ले समसामयिक नयाँ विषय थप गर्ने भएको छ । विश्वविद्यालयले प्राकृतिक चिकित्सा तथा योग विज्ञान, वास्तु इन्जिनियरिङ तथा आयुर्वेद फार्मेसी विषयको पठनपाठन सञ्चालन गर्ने गरी नीतिगत प्रक्रिया अगाडि
बढाएको हो ।
विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले विश्वविद्यालयले नेपालमा पहिलोपटक प्राकृतिक चिकित्सा तथा योग विज्ञान विषयमा स्नातक तहको पठनपाठन गराउने गरी अगाडि बढेको जानकारी दिनुभयो ।
नेपाल संस्कृत विश्वविद्यालयमा आयुर्वेदमा स्नातक तह (बीएएमएस) तहको पठनपाठन गरिए पनि प्राकृतिक चिकित्सा तथा योग विज्ञानका विषयमा पठनपाठन सुरु हुन सकेको थिएन । अब आयुर्वेद अध्ययन संस्थानलाई प्राकृतिक चिकित्सासमेत जोडेर नयाँ अध्ययन संस्थान बनाइने भएको छ । विश्वविद्यालयमा यो विषयको पठनपाठनका लागि आवश्यक दक्ष जनशक्तिसमेत भएकाले नयाँ जनशक्ति उत्पादनमा खासै समस्या नहुने उहाँको भनाइ छ । साढे चार वर्षमा यो तहको पठनपाठन पूरा गर्न सकिन्छ।

वास्तु इन्जिनियरिङ थालिने
विश्वविद्यालयले वास्तु इन्जिनियरिङमा स्नातक तहको जनशक्ति उत्पादन गर्ने भएको छ । नेपालका विश्वविद्यालयमा हालसम्म यस खालको जनशक्ति उत्पादन गरिएको छैन । संस्कृत विश्वविद्यालयमा अब यो विषयको पठनपाठन गराउन इन्जिनियरिङ अध्ययन संस्थान नै स्थापना गरिने भएको छ । विश्वविद्यालयका कुलसचिव अधिकारीले वास्तु, ज्योतिष र इन्जिनियरिङको संयुक्त ज्ञान भएको विषयका रूपमा वास्तु इन्जिनियरिङको पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । समाजमा मानिसले भौतिक संरचनाको निर्माण गर्दा वास्तु, ज्योतिषसहितको इन्जिनियरिङको माग गर्ने गरेको तर जनशक्तिको अभाव महसुस भएकाले आफूहरू यसमा अघि बढेको उहाँको भनाइ छ ।
घरमा मानिसले पानी ट्याङ्कीको ठाउँमा सेफ्टी ट्याङ्की बनाउने अनि सेफ्टी ट्याङ्की बनाउने ठाउँमा पानी ट्याङ्की बनाउने तर पछि व्यावहारिक प्रयोगमा पछुताउने गरेको यस खालको पठनपाठन आवश्यक देखिएको उहाँको भनाइ छ । यसका लागि आवश्यक पाठ्यक्रम बनाउन प्रा.डा. जीवराज पोखरेलको नेतृत्वमा कार्यदल गठन गरिएको छ । विश्वविद्यालयको सभाले यस विषयको पठनपाठन अघि बढाउने नीतिगत निर्णय गरिसकेको छ ।

आयुर्वेद फार्मेसी पढाइँदै
यसैबीच विश्वविद्यालयले आयुर्वेदमा स्नातक तह (आयुर्वेद फार्मेसी) विषयको पठनपाठन सञ्चालनमा ल्याउने भएको छ । आयुर्वेद अध्ययन संस्थानमार्फत स्नातक तहमा बीएएमएस तहको औपचारिक पठनपाठन सञ्चालनमा ल्याइए पनि नेपालमा आयुर्वेद फार्मेसी विषयमा भने स्नातक तहको पठनपाठन कुनै पनि विश्वविद्यालयमा हुन
सकेको छैन ।
विद्यार्थीलाई आयुर्वेद विषय पढाउने तर औषधि उत्पादनको विषयमा जनशक्ति नहुँदा समस्या भएको जनाइएको छ । उहाँले नेपालमा प्रादेशिक अस्पतालले समेत आफैँले औषधि उत्पादन गर्ने तर त्यसको गुणस्तर परीक्षण गर्ने जनशक्ति नभएको अवस्थामा यस खालको जनशक्तिको उपयोगिता धेरै हुने बताउनुभयो।

प्रकाशित : २०७७ पुष २२ गते १०:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI