आजदेखि कांग्रेसको प्रदेश अधिवेशन

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १६ गते ९:५४
आजदेखि कांग्रेसको प्रदेश अधिवेशन

काठमाडौं । नेपाली कांग्रेको १४औं महाधिवेशनअन्तर्गत आज (बिहीबार)देखि प्रदेश अधिवेशन सुरु हुँदैछ । कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो ।

आज एकसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदैछ । कांग्रेस कार्यतालिकाअनुसार बिहीबार प्रदेश अधिवेशन उद्घाटन हुनेछ । १७ गते मनोनयन र १८ मंसिरमा निर्वाचन हुनेछ ।

प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुनेछन् ।

कांग्रेस निर्वाचन समितिले प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएका जनाएको छ । कांग्रेसका नेताहरू प्रदेश अधिवेशनका लागि तोकिएका स्थानहरूमा पुगिसकेका छन् ।

प्रदेश अधिवेशन गर्नका लागि कांग्रेस केन्द्रीय समितिबाट सात जना नेतालाई अध्यक्षतासहित संयोजन गर्ने गरी जिम्मेवारी दिइएको छ ।

प्रदेश नम्बर १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश नम्बर २ मा रमेश रिजाल, बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठको नेतृत्वमा आयोजक समिति बनेको छ ।

यस्तै लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडु प्रदेश अधिवेशन आयोजक समिति संयोजक रहेका छन् ।

सात प्रदेशका लागि तीन–तीनजनाका दरले २१ निर्वाचन अधिकृत तोकिएको छ । प्रदेश १ को निर्वाचन अधिकृतमा भरतबहादुर थापा, सीताराम राई र उत्तम पौडेल, प्रदेश २ मा प्रह्लाद गौतम, अरुणकुमार यादव र विनयकुमार शाह, बागमतीमा केशव काफ्ले, ज्ञानेन्द्रप्रसाद अधिकारी र होमनाथ नेपाल, गण्डकीमा कृष्णबहादुर थापा, विष्णुकुशल भुजेल र यज्ञबहादुर राणा, लुम्बिनीमा प्रा।डा। बुद्ध थापा, घनश्याम पन्त र जीवनारायण अधिकारी, कर्णालीमा अरुण पौडेल, विवश बस्नेत र कृष्णप्रसाद शर्मा, सुदूरपश्चिममा वीरबहादुर जेठारा, घनश्याम पाध्या र सुवासचन्द्र उपाध्यायलाई खटाइएको छ ।

कांग्रेसले प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने गरी व्यवस्था गरेको छ । प्रदेश कार्यसमिति सदस्यहरू पनि प्रदेशमा रहनेछन् । कोषाध्यक्ष भने मनोनित गर्ने व्यवस्था छ ।

 

प्रकाशित : २०७८ मंसिर १६ गते ९:५४

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI