माग पूरा नभएसम्म युक्रेनमा आक्रमण रोकिन्न : पुटिन

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन २३ गते १०:११
माग पूरा नभएसम्म युक्रेनमा आक्रमण रोकिन्न : पुटिन

किभ/मस्को — रुसले आफ्ना माग पूरा नभएसम्म युक्रेनमा सैन्य आक्रमण अन्त्य नगर्ने चेतावनी दिएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग आइतबार टेलिफोन वार्ता गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘युक्रेनले रुसका माग पूरा गरेको खण्डमा मात्र सैन्य कारबाही अन्त्य हुने’ बताएका हुन् ।

टेलिफोन कुराकानीका क्रममा पुटिनले ‘युक्रेनी वार्ताकारहरूले रचनात्मक कदम चाल्ने विश्वास लिएको बताएका’ रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । दुई देशका प्रतिनिधिबीच सोमबार वार्ता हुने जनाइएको छ । युक्रेनमा युद्धविरामका लागि आफूले पुटिनलाई आग्रह गरेको पनि एर्दोगानले जनाएका छन् । तर यस विषयमा पुटिनको प्रतिक्रियाबारे टर्कीको राष्ट्रपति कार्यालयले केही उल्लेख गरेको छैन ।

युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को सदस्य हुने तयारी गरेपछि रुष्ट रुसले उसका मुख्य सहरहरूमा आक्रमण थालेको हो । ११ दिनदेखि जारी आक्रमणका क्रममा रुसले युक्रेनको खर्किभ सहरमाथि पूर्ण नियन्त्रण कायम गरिसकेको छ । राजधानी किभसँगै मरिउपोल, भोल्नोभाख र ओडेसा सहरमा उसले पछिल्ला दिनमा आक्रमण तीव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रुसी आक्रमणका कारण कतिपय सहरमा पिउने पानी तथा विद्युत् आपूर्ति बन्द भएको जनाइएको छ

रणनीतिक हिसाबले निकै महत्त्वपूर्ण ठानिएको बन्दरगाह सहर मरिउपोलमा रुसी सेनाले ठूलो मात्रामा बमबारी गरेको जनाइएको छ । मरिउपोल र भोल्नोभाखका नागरिकलाई बाहिरिन सहयोग पुग्ने गरी गर्ने भनिएको युद्धबिराम भंग भएको युक्रेनी अधिकारीले जनाएका छन् ।

दुई देशबीचको युद्धका क्रममा ठूलो धनजनको क्षति भइसकेको छ । युक्रेनले ७ हजारभन्दा बढी रुसी सेना मारिएका दाबी गरेको छ । त्यस्तै, ८८ वटा रुसी विमान र हेलिकोप्टर ध्वस्त पारिदिएको युक्रेनको दाबी छ । तर यसको स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको बीबीसीले उल्लेख गरेको छ । रुसले भने युद्धका क्रममा ज्यान गुमाउने आफ्ना सैनिकको संख्या ५ सयको हाराहारी रहेको बताएको छ ।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पश्चिमा समर्थक राष्ट्रलाई ‘नो फ्लाइट जोन’ घोषणा गर्न पुनः आग्रह गरेका छन् । तर नाटोले युक्रेनमा ‘नो फ्लाइट जोन’ घोषणा गर्न अस्वीकार गर्दै आएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘नो फ्लाइट जोन’ घोषणा गर्नु भनेको युद्धको कारबाही हुने चेतावनी दिएका छन् ।

युक्रेनकी उपप्रधानमन्त्री ओल्हा स्टेफानिश्न्याले ‘रुसको आतंकवादी योजना’ को नयाँ लहर सुरु भएकाले युक्रेनको अवस्था झन् गम्भीर बन्दै गएको बताएकी छन् । युक्रेनी सहरका अस्पताल र शिशु कक्षाहरूमा रुसी सेनाले गोलाबारी गरेको उनको दाबी छ ।

आफ्ना सैनिकको जीवनलगायतको ठूलो क्षति बेहोर्दा पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणलाई थप प्रोत्साहित गरिरहेको बताइन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमाथि रुसको आक्रमण विफल तुल्याउन नयाँ प्रयास थाल्नुपर्ने बताएका छन् । विश्व नेतालाई आग्रह गर्दै जोन्सनले रुसी राष्ट्रपति पुटिनमाथि दबाब कायम राख्न केही योजना अघि सारेका छन् ।

त्यसका लागि युक्रेनका लागि अन्तर्राष्ट्रिय मानवीय गठबन्धनलाई परिचालन गर्नुपर्ने, युक्रेनले आत्मरक्षाका लागि गरेको प्रयासलाई सबैले साथ दिनुपर्ने, रुसमाथि आर्थिक दबाब बढाउनुपर्ने उनले बताए । त्यस्तै, युक्रेनको वैध सरकारको सहभागितामा युद्धको कूटनीतिक समाधान खोज्नुपर्ने र नाटो देशहरूबीच सुरक्षाका विषयमा द्रुत अभियान अघि बढाउनुपर्ने जोन्सनको भनाइ छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि राष्ट्रपति जेलेन्स्कीसँग कुराकानी गर्दै अमेरिकाले युक्रेनलाई सुरक्षा, मानवीय र आर्थिक सहायता बढाउँदै लग्ने आश्वासन दिएका छन् । त्यसका लागि कंग्रेससँग सहकार्य गरिरहेको ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । यसैबीच, चीनले युक्रेन मामिलाका विषयमा प्रतिक्रिया दिँदै ‘आगोमा घिउ थप्ने’ कार्यको विरोध गर्ने जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी राज्यमन्त्री एन्टोनी ब्लिंकनसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

आफूहरू रुस र युक्रेनबीच प्रत्यक्ष वार्ताको पक्षमा रहेको बताउँदै वाङले त्यसबाट मात्र संकट समाधान गर्न सकिने बताए । दुई नेताबीच पछिल्लो दुई सातामा दोस्रो पटक फोन वार्ता भएको हो । कुराकानीका क्रममा वाङले अमेरिका, नाटो र युरोपेली संघलाई वार्ता गर्न र मस्कोको सुरक्षा चासोलाई ध्यान दिन आग्रह गरेका जनाइएको छ । रुस–युक्रेन संकटले चीनको अगाडि ठूलो चुनौती खडा गरेको ठानिएको छ । चीनले हालसम्म रुसी आक्रमणको आलोचना वा समर्थन केही गरेको छैन । विश्लेषकहरूले चीनले युरोपमा हुने कुनै पनि युद्धलाई समर्थन गरेको देखाउन चाहँदैन र रुससँगको रणनीतिक तथा सैन्य सम्बन्ध पनि सुदृढ रहिरहोस् भन्ने चाहन्छ ।

प्रकाशित : २०७८ फागुन २३ गते १०:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI