सार्वजनिक बिदा कटौती गरी आइतबार बिदा दिने तयारी

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २९ गते ११:५१
सार्वजनिक बिदा कटौती गरी आइतबार बिदा दिने तयारी

काठमाडौं । सरकारले सार्वजनिक बिदा कटौती गरी हप्तामा दुई दिन बिदा दिने तयारी गरेको छ । हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन भएमा शनिबार बाहेक आइतबार पनि सार्वजनिक बिदा हुने भएको छ ।

चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले इन्धन जोगाउन तथा सार्वजनिक खर्चमा कटौती गर्न हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार अहिले दिइएका सार्वजनिक बिदा कटौती गरेर हप्तामा दुई दिन बिदा दिने निर्णय गरिएको छ ।

यसको लागि गृहमन्त्रीको संयोजकत्वमा एउटा कार्यादल गठन गर्ने निर्णय गरिएको छ । उक्त कार्यादललमा अर्थ, सामान्य तथा कानूनमन्त्री पदेन सदस्य रहने भएका छन् । उक्त कार्यदलले कुन कुन सार्वजनिक बिदा कटौती गर्ने भन्ने विषयमा अध्ययन गरी कार्यविधि बनाउने भएको छ ।

कार्यविधि बनेपछि आइतबारदेखि बिदा दिने तयारी भएको ती मन्त्रीले बताए । उनले भने, ‘सम्भवतः बैशाखदेखि यो निर्णय कार्यान्वयय हुनेछ ।’ सार्वजनिक बिदा कटौती नगरी हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन भएमा नेपालमा धेरै नै बिदा हुने भएकोले आइतबार बिदा घोषणा गर्नुअघि सार्वजनिक बिदा कटौती गर्न लागिएको ती मन्त्रीले बताए ।

उनले भने, ‘कार्यविधि नबनाएरै हप्तामा दुई दिन बिदा घोषणा गर्यौं भने नेपालमा बिदै बिदा मात्र हुन्छन् । त्यसैले सार्वजनिक बिदा कटौती गरी त्यसलाई कभर गर्दै हप्तामा दुई दिन बिदा दिने सरकारको योजना हो ।’

त्यसो त, हप्तामा दुई दिन बिदा दिने निर्णय लागु भएमा यो पहिलो पटक होइन । २०५६ सालमा हप्तामा दुई दिन बिदा दिने निर्णय लागू भएको थियो । तर यो निर्णय धेरै दिन टिकेन ।

यस कदमको सबैतिर विरोध भएपछि आफ्नो निर्णयबाट तत्कालिन सरकार पछि हटेको थियो । त्यतिखेर छ महिनामात्र हप्तामा दुई दिन बिदा दिने निर्णय लागू भएको थियो । तर यसपटक परिस्थिति अर्कै छ । सरकारले इन्धन तथा सार्वजनिक खर्च कटौती गर्न दुई दिन बिदा दिने निर्णय गर्न लागेको हो ।

योगेश भट्टराई पर्यटनमन्त्री भएको बेला उनले पनि सरकारी कर्मचारीलाई हप्तामा दुई दिन सार्वजनिक बिदा दिन प्रयास गरेका थिए । त्यसको लागि उनले एउटा कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले भट्टराईको चाहना अनुसार हप्तामा दुई दिन बिदा दिन उपयुक्त हुने सल्लाह दिएको थियो ।

तर विडम्वना भट्टराईले उक्त प्रतिवेदन मन्त्रिपरिषद्सम्म लगेनन् । मन्त्रिपरिषदसम्म प्रस्ताव लैजानुअघि उक्त प्रतिवेदनको व्यापक विरोध भएको थियो । त्यसपछि उनी पनि पछि हटे ।

हप्तामा दुई दिन बिदा घोषणा गरेमा सरकारी कर्मचारीहरू घुमघामा व्यस्त हुने र यसबाट आन्तरिक पर्यटनमा बृद्धि हुने उनको तर्क थियो ।

२०६६सालमा तत्कालीन सरकारले सार्वजनिक बिदाको सम्बन्धमा पुनरावलोकन गर्न तत्कालीन गृहसचिव गोविन्द कुुसुमको संयोजकत्वमा एउटा कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले पनि हप्तामा दुई दिन बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।

उक्त प्रतिबेदन पनि कार्यान्वयन भएन ।

उक्त समितिले सार्वजनिक बिदा कटौती गरी हप्तामा दुई दिन बिदा दिन उपयुक्त हुने सुझाव सरकारलाई दिएको थियो ।

प्रकाशित : २०७८ चैत २९ गते ११:५१

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI