१२ वर्ष कैद र उचित क्षतिपूर्तिको माग गर्दै सन्दीप विरुद्ध मुद्दा  दर्ता

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक १४ गते १४:१२
१२ वर्ष कैद र उचित क्षतिपूर्तिको माग गर्दै सन्दीप विरुद्ध मुद्दा  दर्ता

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला अदालत सरकारी वकिलको कार्यलयका तर्फबाट न्यायधिवक्ता लक्षमण उपाध्यायले लामिछानेविरुद्ध नाबालिग बलात्कार गरेको अभियोगमा मुद्दा दायर गरेका हुन् ।

सन्दीपलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) को कसुरको अभियोग लगाइएको हो ।

दफा २१९ को उपदफा ३ (घ) बमोजिम १० वर्षदेखी १२ वर्षसम्मको कैद माग गरिएको छ । पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

मुद्दा दायरसँगै मंगलबारलाई थुनछेकका लागि पेसी तोकिएको छ । सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने, तारेखमा छाड्ने वा धरौटमा छाड्ने भन्ने विषयमा मंगलबार बहसपछि अदालतबाट आदेश हुनेछ ।

सन्दीपविरुद्ध नाबालिगमाथि बलात्कारको आरोप छ । प्रहरी वृत्त गौशालाले सन्दीपविरुद्धको आरोपको अनुसन्धान गरेको थियो । नाबालिगमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको ‘होटेल काठमाडौं इन’मा लगेर बलात्कार गरेको उल्लेख थियो ।

उक्त होटेलको सीसीटीभी फुटेजमा सन्दीप ती किशोरीसँगै प्रवेश गरेको र बाहिरिएको देखिएको छ ।

भदौ ६ गते सन्दीप नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न केन्या गएका थिए । केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी जमैका गएका थिए । जमैका गएकै बेला उनीविरुद्ध जाहेरी परेको थियो । जाहेरी परेको एक महिनापछि उनी नेपाल आएका थिए । सोही क्रममा उनी असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

सन्दीपले सरकारी वकिललाई दिएको बयानमा आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनले आफूविरुद्ध जाहेरी दिनेकै आग्रहमा होटेलमा बसेको र यौनजन्य कार्य नगरेको दाबी गर्दै आएका छन् ।

प्रकाशित : २०७९ कार्तिक १४ गते १४:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI