साउदीमा एक नेपालीलाई दिइयो मृत्युदण्ड

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक १६ गते १२:१६
साउदीमा एक नेपालीलाई दिइयो मृत्युदण्ड

काठमाडौं । साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । साउदीमा १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई मृत्युदण्ड दिइएको हो ।

दाहाललाई जुवेल जेलमा कात्तिक ६ गते मृत्युदण्ड दिइएको हो । दाहालले २ फेब्रुअरी २००७ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए । अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।

तल्लो अदालतको आदेशलाई, क्रिमिनल कोर्ट र सर्वोच्च अदालतबाट पनि सदर गरेको थियो । २००६ मा साउदी अरब पुगेका दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्ने काम गर्थे ।

दाहालले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक हत्या प्रयास गरेका थिए । विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो ।

पीडित राजेन्द्र विष्टको परिवारलाई दाहालको परिवारले ब्लडमनीबापत रकम दिएको भन्दै सन् २०११ मा नेपाली दूतावासले जुवेलको अदालतमा आममाफी दिन निवेदन दिएको थियो । तर, उपचारपछि स्वदेश फिरेका सुडानी नागरिक माफी नदिई सर्म्पकविहीन भएपछि दाहाललाई मृत्युदण्ड दिइएको हो ।

दाहालको शव नेपाल पनि नपठाई उतै गाडिएको साउदीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

प्रकाशित : २०७९ कार्तिक १६ गते १२:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI