प्रचण्डलाई चित्रबहादुर केसीको सुझाव- सरकारलाई भेडीगोठ नबनाउनुस्, अब मन्त्रीको ‘फ्याक्ट्री’ होइन उद्योगधन्दा खोल्नुपर्छ

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष २१ गते १०:३७
प्रचण्डलाई चित्रबहादुर केसीको सुझाव- सरकारलाई भेडीगोठ नबनाउनुस्, अब मन्त्रीको ‘फ्याक्ट्री’ होइन उद्योगधन्दा खोल्नुपर्छ

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले पुष्पकमल दाहाल (प्रचण्ड) को सरकारलाई विश्वासको मत नदिने बताएका छन् ।

‘मैले बालुवाटारमै प्रचण्ड र शेरबहादुरलाई गठबन्धन भत्किए तपाईंहरु दुवैलाई मेरो समर्थन हुँदैन भन्दिइसकेको हुँ । गठबन्धन प्रचण्डले टुटाएको हो, हामीले टुटाएको होइन । नाम मात्र कम्युनिस्ट भएर भएन, चरित्र पनि कम्युनिस्ट हुनुपर्यो । कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउन गठबन्धन बन्ने र भत्किने हो भने त्योभन्दा ठूलो दुर्भाग्य केही हुँदैन,’  केसीले भने ।

प्रचण्ड सिद्धान्त, राजनीति, नैतिकता, इमान जमान सबै छाडेर प्रधानमन्त्री हुन लागेको आरोप पनि उनले लगाए । केसीले थपे, ‘संसदमा ८९ र ७८ सिट भएका पार्टीले सरकारको नेतृत्व नपाउने, ३२ सिटले नेतृत्व गर्ने हुन्छ र लोकतन्त्रमा ? १५-२० वर्ष जान्छ भनेको होइन र प्रचण्डले ? उनले सिद्धान्त, राजनीति, नैतिकता, इमान जमान सबै छाडे । इतिहास दोहोर्‍याए प्रचण्डले । उनलाई सत्ता र शक्तिबाहेक केही नचाहिने भयो ।’

सत्ताको आयु लम्बाउनकै लागि मन्त्रालय फोड्नुजस्तो घृणित खेल भएको नेता केसीको धारणा छ । उनले भने, ‘पाँच वर्षमा प्रदेशमा २३० मन्त्री भए । अब मन्त्रीको फ्याक्ट्री होइन, उद्योगधन्दा पो खोल्नुपर्छ । अब सरकारलाई भेडीगोठ बनाउनु हुँदैन ।’ रास्वपा नक्कली संघीयताविरोधी पार्टी भएको आरोप पनि उनले लगाए । साथै उनले शेरबहादुर देउवासँगको सहकार्य टुट्यो भनेर पार्टीले निर्णय नगरेको पनि औंल्याए ।

नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान रहेको बताउँदै उनले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिए । उनले भने, ‘क्रिसमसमा छुट्टी दिने अनि पृथ्वी जयन्तीमा छुट्टी नदिने ? नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिका छ । पृथ्वी जयन्ती मनाउनुपर्छ, छुट्टी दिनुपर्छ ।’

प्रकाशित : २०७९ पुष २१ गते १०:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI