राप्रपा र रास्वपाबीच एकताको चर्चा

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष २१ गते १०:४१
राप्रपा र रास्वपाबीच एकताको चर्चा

काठमाडौं, २० पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच पार्टी एकताको चर्चा चलेको छ । पछिल्लो समय राप्रपा नेतृत्वमा रास्वपासँग पार्टी एकता गर्नुपर्ने दबाब बढेको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनमा राप्रपा १४ सिटसहित संसद्को पाँचौ ठूलो दल बनेको छ । रास्वपा भने २० सिटसहित चौथो दल बनेको छ ।

दुवै दलले राष्ट्रियता, सुशान र विकासको एजेण्डा बोकेकोले मिलेर अघि बढ्नुपर्ने नेताहरुको भनाई छ । उता, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जसपाबीच एकताको लागि गृहकार्य भएको छ । वामपन्थीहरु मिल्नका लागि गृहकार्य थालेपछि राप्रपामा पनि विचार मिल्नेसँग एकता प्रक्रिया अघि बढाउनुपर्ने दबाब बढेको छ। अहिले राप्रपा र रास्वपा दुवैले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेका छन् । रास्वपा त सरकारमा सहभागी भैसकेको छ ।

रास्वपाका सभापति रवि लामिछाने अहिले प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवम् गृहमन्त्री छन् । वामपन्थीहरुबीच एकता प्रक्रियाको चर्चा चलेपछि राप्रपाका प्रभावशाली नेताहरुले पनि अब रास्वपासँग एकता गर्नुपर्ने भन्दै नेतृत्वसमक्ष लविङ थालेका छन् । राप्रपाले सरकारमा सहभागी हुनको लागि प्रधानमन्त्री दाहालसमक्ष केही शर्त अघि सारेको छ ।

ती शर्तमा राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदादेखि भ्रष्टाचारबारे छानबिन गर्न शक्तिशाली आयोग गठन रहेको छ । प्रधानमन्त्री दाहाल राप्रपाका सबै मागप्रति सकारात्मक छन् । पुष २७ गते राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिने वा नदिने भन्नेबारे भने दाहाल अन्यौलमा छन् । अरु मागमा भने उनी सकारात्मक छन् । राप्रपा र रास्वपाबीच एकताको लागि पहल थाल्नेगरि दुवै दलका प्रभावशाली नेताहरुबीच भेटवार्ता सुरु भएको स्रोतको दाबी छ ।

प्रकाशित : २०७९ पुष २१ गते १०:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI