‘समयमै राष्ट्रिय गान, समयमै कार्यालय’

NAWALPUR TIMES
प्रकाशित : २०७९ माघ २८ गते १५:२१
‘समयमै राष्ट्रिय गान, समयमै कार्यालय’

वीरगञ्ज – आजकाल हरेक बिहान ठिक ९ बजेर ५५ मिनेटमा पर्साको जिल्ला प्रशासन कार्यालयको आँगनमा राष्ट्रिय झन्डा नजिकै साउन्डबक्समा म्यूजिक बज्न थाल्छ। सरकारी कार्यालयको परिसरमा धुन बजेको देखेपछि कामका लागि आउन थालेका सेवाग्राही पनि त्यतै लाग्छन्। विस्तारै त्यहाँ रहेको कार्यालय प्रमुखको कार्यकक्ष भवनमुनि सबै कर्मचारी पनि लाइनमा उभिन थाल्छन् ।

कार्यालय परिसरमा पस्नै लागेका कर्मचारी पनि ठिक १० बजे पङ्तिमा उभिन हतारिँदै आएको दृश्यले पनि नव आगन्तुक सेवाग्राहीको ध्यान गजबले केन्द्रित गरिरहेको हुन्छ। १० बजे राष्ट्रिय गान बज्छ अनि सबै कर्मचारी तथा कार्यालय परिसरमा उपस्थित सेवाग्रहीसमेत राष्ट्रिय गानमा सहभागी हुन्छन्। राष्ट्रिय गान सकेपछि सबै कर्मचारीहरू आ–आफनो फाटमा लाग्छन्। यसरी प्रत्येक दिन जिल्ला प्रशासन कार्यालय सुरु हुने गरेको छ ।

पर्साको जिल्ला प्रशासन कार्यलय केही दिनदेखि यसै प्रकारले प्रारम्भ हुने गरेकोले सरकारी कार्यालयबाट सहजै सेवा पाउने आशा पलाएको छ। ‘घुम्दै–डुल्दै’ अफिस आउने, चिसोमा कार्यालय अगाडि घाम ताप्दै साथी कर्मचारीसँगको गफगाफ पछि ११ बजेदेखि काम गर्ने प्रचलन फेरिएको छ। यसबाट  जिल्ला प्रशासन कार्यालय पर्सामा आउने  जिल्लावासीलाई  सुविधा भएको छ। प्रशासन कार्यालय पर्साको “सरकारी” पाराको कार्यशैलीलाई  पूरै फेरिएर सेवाग्राहीमूखी भएको छ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी कार्यालय प्रमुखको रुपमा आएपछि कार्यालयको कार्यशैलिमा परिवर्तन भएको हो। उनी आएको दोश्रो दिनदेखि नै राष्ट्रिय गान सुरु भएको एक कर्मचारीले बताए। बिलम्ब गरी आउने कर्मचारीलाई दुई पटकसम्म सचेत गराउने र त्यसपछि पनि कार्यालय समयमा नआउने  कर्मचारीलाई स्पष्टिकरण समेत सोध्ने गरिएको छ। कार्यालय संचालनको प्रक्रिया अझ चुस्त दुस्त बनाइएको जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारी एवम प्रवक्ता भिमकान्त पौडेलले बताए । उनले भने, ‘रेग्मीसर आएपछि धेरै कुराहरू सुधार भएका छन्, समयमै राष्ट्रिय गान र समयमै कार्यालय सुरु गरिहाल्ने गरिएको छ।’

सेवाग्राहीलाई  सहज र छिटो नागरिकता लगायत सबै सेवा प्रदान गर्ने कामको थालनी गरिएको सहायक जिल्ला अधिकारी पौडेलको भनाइ थियो। उनले भने, ‘आफ्नै कार्यलयमा रहेका गुनासालाई समाधान गर्नुका साथै सरकारी कार्यलयहरूमा पनि छड्के र अनुगमन बढाउँछौँ।’

नयाँ नागरिकता लगायत प्रतिलिपि समेत पाउन हप्तौ लाग्ने गरेको जिल्ला प्रशासन कार्यालयको सधैको गुनासा हो।पर्साको बर्बाबाट आएका रामकिशोर चौरसियाले भने, ‘पहिले भन्दा अहिले धेरै सुधार छ।’  सबै सरकारी कार्यालयमा राष्ट्रिय गानसहित ठिक समयमा कर्मचारीहरू  पुग्ने भए राम्रो हुने चौरसियाको भनाइ थियो। आइएनएस-स्वतन्त्र समाचार

प्रकाशित : २०७९ माघ २८ गते १५:२१

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI