नवलपुरमा दर्जन कभर्डहल निर्माण

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन ३ गते १३:४१
नवलपुरमा दर्जन कभर्डहल निर्माण

नारायण शर्मा/कावासोती । नवलपुरमा एक दर्जन कभर्डहल निर्माण गरिएको छ । ब्याडमिन्टन खेलका पारखीहरूले ठाउँ–ठाउँमा कभर्डहल निर्माण गरेर खेलकुद गतिविधिलाई तीव्रता दिएका छन् ।

यहाँका ८ पालिकामध्ये ६ वटामा ब्याडमिन्टन खेलका लागि कभर्डहल निर्माण भइसकेको छ । गैंडाकोट नगरपालिकामा २, देवचुलीमा एक, कावासोती नगरपालिकामा २, मध्यबिन्दु नगरपालिकामा २ र विनयी त्रिवेणीमा एक कभर्डहल निर्माण गरिएको छ । कावासोती, देवचुली र पहाडी बौदीकाली गाउँपालिकामा निर्माणाधीन अवस्थामा छ । कावासोती नगरपालिकाको वडा ३ अट्ठाइस बिगाह र वडा ६ को विष्णुनगरमा कभर्डहल निर्माणधीन अवस्थामा छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले स्थानीय क्लबको सक्रियतामा सार्वजनिक जग्गामा जिल्लाभर एक दर्जन कभर्डहल निर्मँण भइसकेको बताए । ‘चारवटा निर्माणाधीन अवस्थामा छन्,’ उनले भने, ‘जिल्लामा केही वर्षयता ब्याडमिन्टनप्रतिको आकर्षण बढ्दो छ । ठूला कभर्डहलमा संघीय सरकारको आर्थिक सहयोग छ भने अन्य धेरै कभर्डहलमा स्थानीय पालिका र व्यवसायीले सहयोग गरेका छन् । ब्याडमिन्टनमा सबै उमेर समूहका खेलाडीको आर्कषण बढ्दो छ ।’ जिल्लामा स्थानीय २ सयभन्दा बढी ब्याडमिन्टनका खेलाडी छन् । यहाँ एक सयको हाराहारीमा कर्मचारी खेलाडी छन् । जिल्ला सदरमुकाम कावासोती नगरपालिका वडा २ नर्मदेश्वर शिवालय परिसरमा तीनवटा कोर्ट रहेको कभर्डहल निर्माण भइसकेको छ । हरेक दिन साँझ–बिहान ५ दर्जनभन्दा बढी खेलाडी नियमित अभ्यास गर्छन् । यू–१६ देखि ६० वर्ष उमेरसम्मका खेलाडीको रोजाइ रहेको छ कावासोती कभर्डहल ।

कर्मचारी र स्थानीय खेलाडी नियमित प्रशिक्षणमा हुन्छन् । सदरमुकाम भएका कारण यहाँ सेना, प्रहरी, कर्मचारी र स्थानीयको बाक्लो उपस्थिति हुने गर्दछ । बढ्दो सहरीकरणसँगै बजारमा ब्याडमिन्टन खेलप्रतिको रुचि बढ्दै गएको स्थानीय विष्णु श्रेष्ठ बताउँछन् । ब्याडमिन्टनमा रुचि भएकाहरूको सक्रियतामा स्थानीय योङ स्टार क्लबले कावासोती कभर्डहल निर्माण भएको हो । यहाँ तीनवटा कोर्ट भएका कारण एकै पटक १२ खेलाडी कोर्टमा उत्रन पाउँछन् । यहाँ दैनिक ५ दर्जनभन्दा बढी खेलाडि दिनहु भिडने गर्छन् ।

गैंडाकोट नगरपालिकाको वडा ४ झपर्दीमा साढे ५ करोडको लगानीमा ३ वटा कोर्ट भएको कभर्डहल निर्माणधीन अवस्थामा रहेको गैंडाकोट खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मण कार्की बताउँछन् । यो नै जिल्लाको सुविधासम्पन्न कभर्डहल हो । यहाँ चेन्जिङ रूम र दर्शकदीर्घा बस्ने समेत व्यवस्था छ । संघीय सांसद डा. शशांक कोइरालाको पहलमा साढे ५ करोड बजेटबाट यो निर्मँण गरिएको हो । गत सोमबार यसको छानोसमेत हालिसकिएको छ । साउन अन्तिम साताबाट खेलकुद गतिविधि गर्ने गरी काम भइरहेको छ । जिल्लाको धेरै सरकारी लगानी रहेको आधुनिक कभर्डहल हो ।

गैंडाकोटकै वडा १ को जजुवामा पनि निजी लगानीमा कभर्डहल निर्मँण भएको छ । यहाँ आउने खेलाडीबाट दैनिक रकम लिएर खेलाउने गरिन्छ । गैडाकोट नगरपालिका वडा ११ भेडाबारी बजारमा पनि दुईटा कोर्ट भएको कभर्डहल निर्माण भएको छ । यसमा खेलकुद मन्त्रालय र नगरपालिकाले आर्थिक सहयोग गरेका छन् । करिब डेढ करोड लगानीमा यो निर्माण सम्पन्न भएको हो । तीन दर्जनभन्दा बढी खुला स्थानमा कोर्ट छन् ।

प्रकाशित : २०८० साउन ३ गते १३:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI