आँखा पाक्ने संक्रमण बढेसँगै कावासोतीका विद्यालय शुक्रबार सम्म बन्द

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन २२ गते १७:१०
आँखा पाक्ने संक्रमण बढेसँगै कावासोतीका विद्यालय शुक्रबार सम्म बन्द

कावासोती । आँखा पाक्ने संक्रमण फैलिएपछि कावासोती नगरपालिकाले शुक्रबार सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कावासोती नगरपालिकाले सोमबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो ।

हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी बुधबार २४ गतेदेखि शुक्रबार २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले जानकारी दिए । आँखा पाक्ने रोग (एडिनो भाइरस) को संक्रमण नवलपुरमा पनि बढ्दै गएको छ ।

आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको चिकित्सकहरु बताउछ्न ।

यो रोग लाग्दा संक्रमित व्यक्तिको आँखाबाट पानी निस्कने, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा पुग्दा संक्रमण सर्छ । त्यसैले संक्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुनुपर्ने चिकित्सकको सुझाव छ । यस्तो संक्रमण भएका बेला तौलिया, रुमाल, लुगाफाटो, मेकअपका सामान अरूलाई प्रयोग गर्न दिनु हुँदैन ।

प्रकाशित : २०८० साउन २२ गते १७:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI