कावासोती नगरपालिकाद्वारा विशेष छात्रवृत्तिका लागि आवेदन माग

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन २५ गते १८:०४
कावासोती नगरपालिकाद्वारा विशेष छात्रवृत्तिका लागि आवेदन माग

कावासोती । कावासोती नगरपालिकाले नगर विषेश छात्रवृत्तिका लागी आवेदन माग गरेको छ ।

आ.व २०८०/८१ मा विषेश छात्रवृत्ति शिर्षकमा बजेट व्यवस्था गरि विद्यालय तह कक्षा ६-१२ मा अध्ययनरत लक्षित विद्यार्थीलाई तीन प्रकारको छात्रवृत्ति प्रदान गरिने कावासोती नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत राजन पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार चालू आ.व बाट नगरपालिकाले अनाथ विपन्न जेहेन्दार छात्रवृत्ति, विपन्न जेहेन्दार छात्रवृत्ति र अपांग जेहेन्दार विपन्न छात्रवृत्ति गरेर तीन प्रकारको छात्रवृत्ति वितरण गर्नका लागि आवेदन आह्वन गरेको हो ।

नगरपालिका भित्रका सामुदायिक विद्यालयको कक्षा ६-१२ तथा सामुदायिक क्याम्पसमा कक्षा ११-१२ अध्ययन गर्ने विद्यार्थीहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछ्न भने संस्थागत विद्यालयमा छात्रवृत्ति प्राप्त गरेर एसइई उतिर्ण गरि सामुदायिक विद्यालय वा क्याम्पसमा कक्षा ११-१२ अध्ययन गर्ने विद्यार्थीले पनि छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछ्न
।यस प्रकारका विद्यार्थीलाई ५ प्रतिशत कोटा छुटाइने नगरपालिकाले जनाएको छ ।
कुल छात्रवृत्ति कोटाको ९० प्रतिशत कावासोती नगरपालिकाका स्थायी बासिन्दालाई प्रदान गरिने नगरपालिकाद्वारा जारी गरिएको सूचनामा जनाईएको छ ।

सूचनामा जनाईए अनुसार खेती किसानी गरेर खान र परिवार चलाउन पुग्ने जमिन नहुनु वा घरको कुनै सदस्यको नियमित आमदानीले घर व्यवहार चल्ने अवस्था नहुनेलाई विपन्नताको अवस्था मानिने जनाईएको छ । अपांगताको हकमा अपांग परिचय पत्र, अनाथको हकमा सम्बन्धित वडा कार्यालयले अनाथ अवस्था प्रमाणित गरेको सिफारिस र जेहेन्दारको हकमा सम्बन्धित विद्यालयले सिफारिस गरिनु पर्ने सुचनामा भनिएको छ ।

छात्रवृत्तिका लागि आवेदन सम्बन्धित विद्यालय वा क्याम्पसमा दिन सकिने र विद्यालय तथा क्याम्पसले भदौ २५ गते भित्र नगरपालिकाको शिक्षा शाखामा बुझाउनु पर्ने छ ।

प्रकाशित : २०८० साउन २५ गते १८:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI