विश्वकप अगाडि भारतको फराकिलो जित, आठौँ पटक एसिया कपको उपाधि

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ ३१ गते १८:३१
विश्वकप अगाडि भारतको फराकिलो जित, आठौँ पटक एसिया कपको उपाधि

कावासोती । भारतले आठौँ पटक एसिया कप क्रिकेटको उपाधि जितेको छ । घरेलु मैदान आयोजना गर्ने विश्वकप एक दिवसीय क्रिकेटअघि भारतले खुशी लिएर स्वदेश फर्कने भएको हो ।

पाकिस्तान र श्रीलंकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनलमा श्रीलंकामाथि १० विकेटको जित हासिल गर्दै भारतले आठौँ उपाधि जितेको हो ।

१६ संस्करण सकिएकामा आधा उपाधि भारतको पोल्टामा गएको हो । भारत ११ पटक फाइनलमा पुगेकामा तीन पटकमात्र उपविजेता भएको छ ।

श्रीलंका ६ पटक विजेता तथा ७ पटक उपविजेता भएको छ । पाकिस्तानले २ पटक उपाधि जितेको छ । ३ पटक उपविजेता भएको छ ।

आइतबार (भदौ ३१ गते) भएको फाइनलमा श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्यो । आर प्रेमदासा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ५० रनमै अलआउट भएको छ ।

कुशल मेन्डिसले १७ र दुशान हेमन्थाले अविजित १३ रन बनाएको इनिङमा अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् ।

१५.२ ओभरमात्र क्रिजमा टिकेको श्रीलंकाका पाँच खेलाडीले रनको खातासमेत खोल्न सकेनन् ।

भारतका लागि मोहम्मद सिराजले ७ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ६ विकेट लिए ।

तीव्र गतिका बलरलाई फाइदा नहुने पिच भनेर क्रिकेट पंडितहरुले ब्याख्या गरेको भए पनि त्यस विपरीत भारतीय तीव्र गतिका बलरहरुले कमालको बलिङ गरे ।

जवाफमा भारतले ६.१ ओभरमै कुनै विकेट नगुमाई जित हासिल गर्यो । यति ठूलो टिममाथि मात्र ६.१ ओभरमै हासिल गरेको जित भारतका लागि सबैभन्दा ठूलो जित हो ।

श्रीलंकाले भने करियरकै दोस्रो कम योगफल बनाएको हो ।

प्रकाशित : २०८० भदौ ३१ गते १८:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI