एसिया कपको अनुभव सहित एसियाडमा उत्रिदै नेपाली क्रिकेट टिम

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज १ गते १४:४७
एसिया कपको अनुभव सहित एसियाडमा उत्रिदै नेपाली क्रिकेट टिम

कावासोती । पाकिस्तान र श्रीलङ्कामा सम्पन्न एसिया कप क्रिकेटको समूह चरणबाट बाहिरिएको नेपाल चीनको हाङझाउ सहरमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) मा सुखद नतिजा निकाल्ने लक्ष्यका साथ तयारीमा व्यस्त छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी १९औँ एसियन गेम्समा सुखद नतिजा ल्याउने लक्ष्य रहेको बताए । सेप्टेम्बर २३ देखि १९औँ एसियन गेम्सको औपचारिक सुरुवात हुँदैछ । एसियन गेम्समा पुरुष क्रिकेटको प्रतिस्पर्धा असोज १० गतेदेखि हाङझाउको पिङफेङ क्याम्पस क्रिकेट मैदानमा हुँदैछ ।

कप्तान पौडेलले भर्खर एसिया कप खेलेको र तयारी राम्रो भएकाले एसियाडमा राम्रो गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘‘हामीले एसिया कपमा ठुला देशसँग खेलेका छौँ । प्रदर्शनमा दिन प्रतिदिन सुधार आएकोले एसियाडमा थप राम्रो हुने आशा गरेका छौँ,’’ पौडेलले भने । एसियाडमा क्रिकेट टी–२० फरम्याटमा हुनेछ ।

पौडेलले टोलीमा सबै खेलाडीका आ–आफ्नो भूमिका तय भइसकेकोले त्यहीअनुसार सबैले आफ्नो जिम्मेवारी  पूरा गर्ने पनि बताउनुभयो । टोलीले आक्रामक रणनीतिका साथ खेल्ने योजनाका बताएको छ, उनले भने ।

एसियाड क्रिकेटमा नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा मंगलोलिया र माल्दिभ्स छन् । नेपालका लागि यो तुलनात्मक रूपमा सहज समूह हो । तर कप्तान पौडेलले कुनैपनि टोलीलाई बलियो र कमजोर नआँक्ने भन्दै आफ्नै खेल प्रस्तुत गर्ने बताए ।

समूहमा शीर्ष स्थानमा रहने टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । एसियाडमा विश्व क्रिकेटका बलिया राष्ट्र भारत, पाकिस्तान र श्रीलङ्कासहित बङ्गलादेशले पनि प्रतिस्पर्धा गर्दैछ । यी चार देशले सिधै क्वार्टरफाइनल खेल्नेछन् । टेस्ट राष्ट्रसामु  एसोसिएट राष्ट्रका लागि चुनौती पार गर्न कठिन हुनेछ ।

नेपाली क्रिकेट टोलीका अलराउण्डर गुल्सनले झाले पनि नेपालको तयारी राम्रो भएकाले सुखद नतिजा आउनेमा आशा व्यक्त गर्नुभयो । पछिल्ला समय लगातार एक दिवसीय खेल खेलिरहेकाले अहिले टी–२० फरम्याथमा आफूलाई अभ्यस्त गराउने काम भइरहेको उनले बताए ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसियाडका लागि रोहितको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । टोलीमा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, विवेककुमार यादव, अविनाश बोहरा, सन्दीप लामिछाने र विनोद भण्डारी छन ।

विनोदले लामो समयपछि नेपाली टोलीमा पुनरागमन गर्नुभएको हो । नेपाली टोली अहिले त्रिवि क्रिकेट मैदानमा दैनिक तयारी गरिरहेको छ । एसियाडमा नेपाली क्रिकेटको यो तेस्रो सहभागिता हो ।

प्रकाशित : २०८० असोज १ गते १४:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI