बन्द रहेको निकुञ्ज भित्रको जीप सफारी दशैँ अघि सन्चालनमा आउने

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज ७ गते १४:५९
बन्द रहेको निकुञ्ज भित्रको जीप सफारी दशैँ अघि सन्चालनमा आउने

कावासोती । चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी सञ्चालनका लागि सडक मर्मत तथा सरसफाईको काम सुरु गरिएको छ । दशै अघि जीप सफारी सञ्चालन गर्नेगरी सडक मर्मत र सरसफाईको काम सुरु गरिएको हो । बर्खायाम लागेपछि असार १५ गतेदेखि बन्द रहेको सफारी असोज १५ देखि सञ्चालनको तयारी गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार एक साता अघिदेखि सडक ममर्त र सरसफाईको काम भइरहेको छ ।

निकुञ्जभित्र सौराहा, कसरा, माडी, मेघौली, अमलटारी, कुजौली नाकाबाट जीप सफारी हुने गरेको छ । सौराहादेखि अमलटारीसम्मको ५५ किलोमिटरको दुरीमा सबैभन्दा लामो जीप सफारी हुने गरेको छ । गतवर्ष निकुञ्जभित्र ६५ वटा जीपले सफारीका लागि अनुमती लिएका थिए । सबैभन्दा बढि सौराहाबाट सञ्चालन हुनेगरी ३२ वटा जीपले अनुमती लिएको तिवारीले बताउनुभयो । यस्तै कसराबाट १६, मेघौलीबाट ९, अमलटारीबाट ५, कुजौलीबाट २ र माडीबाट एक जीपले अनुमती लिएका थिए । यो बर्ष सफारीका लागि अनुमती लिने प्रकृयामा रहेको तिवारीले जानकारी दिनुभयो ।

गत आर्थिक बर्षमा २ लाख ९९ हजार ४ सय १२ जनाले निकुञ्ज घुमेका थिए । जीप सफारीबाट निकुञ्जले ४ करोड ८७ लाख रुपैंया आम्दानी गरेको थियो । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य पर्यटक बन्यजन्तु अवलोकनका लागि आउने गरेका छन् । यहाँ दुर्लभ एकसिंगे गैडा, पाटेबाघ, हात्ती, भालु, जरायो, मृग लगायतका वन्यजन्तु र चराचुरुङ्गी अवलोकनका लागि पर्यटकहरु आउने गरेका छन् ।

प्रकाशित : २०८० असोज ७ गते १४:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI