साफ यू–१९ च्याम्पियनसिप : जित्नैपर्ने दबाबमा नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज ८ गते ९:३६
साफ यू–१९ च्याम्पियनसिप : जित्नैपर्ने दबाबमा नेपाल

कावासोती । साफ यू–१९ च्याम्पियनसिपमा सोमबार माल्दिभ्सविरुद्ध घरेलु टिम नेपाल जित्नैपर्ने दबाबमा उत्रिँदै छ ।

समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग १–० को हार व्यहोरेको थियो । यसैकारण सेमिफाइनलमा प्रवेश गर्नका लागि आज नेपाललाई जित्नैपर्ने दबाब छ । हार वा बराबरीको नजिताले दुईपटकको च्याम्पियन नेपालको चुनौती समूह चरणमा नै समाप्त हुनेछ ।

माल्दिभ्स भने नेपालविरुद्ध बराबरी गरे पनि सेमिफाइनलमा प्रवेश गर्नेछ । माल्दिभ्सले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो ।

समूहमा दुई खेलबाट चार अंक जोडेको पाकिस्तानले विजेताका रूपमा अन्तिम चारमा स्थान बनाइसकेको छ । दोस्रो स्थानमा रहेको माल्दिभ्सको एक अंक छ । अंकविहीन नेपाल समूहको पुछारमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी दुई टिमबीचको खेल नेपाली समयानुसार दिउँसो १ः३० बजे सुरु हुनेछ ।

प्रतियोगितामा आज दुई खेल हुँदै छन् । दोस्रो खेलमा समूह ‘बी’का भुटान र भारतबीच प्रतिस्पर्धा हुँदै छ । यो समूहबाट यी दुवै टिमले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । यो खेलबाट समूह विजेता र उपविजेताको छिनोफानो हुनेछ ।

भारतले प्रतियोगिताको आफ्नो पहिलो खेलमा बंगलादेशलाई ३–० ले हराएको थियो । भुटानले पहिलो खेलमा बंगलादेशविरुद्ध ४–३ को रोमाञ्चक जित निकालेको थियो ।

प्रकाशित : २०८० असोज ८ गते ९:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI