दसैँको अवधिमा पर्यटक प्रवेश शुल्कबाट एक करोड ८५ लाख रूपैयाँ राजस्व संकलन

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक १४ गते १४:५८
दसैँको अवधिमा पर्यटक प्रवेश शुल्कबाट एक करोड ८५ लाख रूपैयाँ राजस्व संकलन

चितवन-चितवन राष्ट्रिय निकुञ्जले दसैँको अवधिमा पर्यटक प्रवेश शुल्कबापत एक करोड ८५ लाख रूपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । बडादसैँको घटस्थापनादेखि पूर्णिमासम्म १४ दिनको अवधिमा निकुञ्जले एक करोड ८५ लाख ४४ हजार ९५० रूपैयाँ राजस्व संकलन गर्न सफल भएको हो । १४ दिनको अवधिमा संकलन भएको उक्त राजस्व अहिलेसम्मकै धेरै भएको निकुञ्जले जनाएको छ ।

सो अवधिमा चितवन आएकामध्ये २० हजार ७०७ पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । स्वदेशी पर्यटकबाट निकुञ्जले १९ लाख ८४ हजार ९५०, विदेशी पर्यटकबाट एक करोड २० लाख ९६ हजार, सार्क मुलुकका पर्यटकबाट सात लाख ७९ हजार र जिप सफारीबाट ३६ लाख ८५ हजार रूपैयाँ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ ।

मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहाबाट १२ हजार ५५८ स्वदेशी पर्यटक, चार हजार ५४३ विदेशी पर्यटक, ५६३ सार्क मुलुकका पर्यटक र ४४० जना अन्य पर्यटकले जिप सफारीका लागि टिकट काटेर निकुञ्ज प्रवेश गरेका छन् । कसराबाट ३०८ जना स्वदेशी पर्यटक, ७६६ जना विदेशी पर्यटक, १०४ जना सार्क मुलुकका पर्यटक र १६४ जना अन्य पर्यटकले जिप सफारीका लागि टिकट काटेर निकुञ्ज प्रवेश गरेका छन् ।

त्यस्तै, मेघौलीबाट २७७ जना स्वदेशी पर्यटक, ५०५ जना विदेशी पर्यटक, १०९ जना सार्क मुलुकका पर्यटक र १११ जना अन्य पर्यटकले जिप सफारीका लागि टिकट काटेर निकुञ्ज प्रवेश गरेका हुन् । माडी क्षेत्रबाट १३ जना स्वदेशी पर्यटक, १९ जना विदेशी, तीन जना सार्क र चार जना जिप सफारी, अमलटारीबाट ५३ जना स्वदेशी, २१३ जना विदेशी र १६ जना अन्य पर्यटकले जिप सफारीका लागि निकुञ्जको टिकट काटेर प्रवेश गरेको जनाइएको छ ।

त्यस्तै, कुजौलीबाट २४ जना स्वदेशी, दुई जना विदेशी पर्यटकले जिप सफारीमार्फत निकुञ्ज अवलोकनका लागि टिकट काटेको निकुञ्जले जनाएको छ । सौराहालाई प्रमुख गन्तव्य बनाएर चितवन आएका कुल पर्यटकमध्ये करिब ४० प्रतिशतले मात्र निकुञ्ज अवलोकन गर्ने गरेको तथ्याङ्क सार्वजनिक हुने गरेको छ ।

सौराहामा १५ दिनको अवधिमा ५० हजार बढी स्वदेशी पर्यटक आएका छन् । उनीहरु एक रात दुई दिन बसेर फर्किएको क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीले बताए । सौराहामा अहिले दैनिक एक हजार ५०० विदेशी पर्यटक भित्रिएका छन् ।

आगामी माघ महिनासम्मलाई ९५ हजार पर्यटकले होटल बुकिङ गरेको गिरीले बताए । अहिले सौराहामा विदेशी पर्यटकको संख्या मनग्य रहेको छ । ‘सौराहाको सुन्दरता विदेशी पर्यटक हुन्’, संघका अध्यक्ष गिरीले भने, ‘कोरानाकालमा शून्यमा झरेको विदेशी पर्यटकको आगमन अहिले अपेक्षाअनुसार रहेको छ ।’

प्रकाशित : २०८० कार्तिक १४ गते १४:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI